कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।
सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापाले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।
यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकाले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन् ।
गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनामा दिएका थिए ।
सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुका ५ः०० बजेसम्मको समय दिएका थिए ।