कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन् ।
यसअघि सभामुख बाबुराम गौतमको छुट्टै हस्ताक्षरमा थापाले मुख्यमन्त्रीको दावी पेश गरेका थिए । जसलाई सर्वोच्च अदालतले असंवैधानिक भनी खारेज गरिदिएको थियो । हाल गौतमले गठबन्धनको सरकार बनाउन सभामुख पदबाट राजीनमा दिएका थिए ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरिदिएको थियो ।
थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो ।