डेङ्गु महामारी तीव्र गतिमा फैलिएसँगै धरानमा डेङ्गु परीक्षण, औषधि उपचार, फलफूलदेखि नरिवलसम्ममा अचाक्ली मूल्यवृद्धि भएको छ । निजी क्लिनिक, औषधि पसल र प्रयोगशालाहरूले डेङ्गु र भाइरल ज्वरोका पीडितहरूसँग मनखुसी असुल गरिरहेका छन् । उता फलफूलको मूल्य दिनैपिच्छे बढिरहेको छ । डेङ्गु सङ्क्रमितले नरिवलको पानी पिउन थालेपछि यसको मूल्य एकाएक आकाशिएको छ । व्यापारीहरूको मौकामा चौका हान्ने यो प्रवृत्तिले आम नागरिक पीडित बनिरहेका छन् । नागरिकको पिरमर्कामा साथ दिने स्थानीय सरकार नै हो तर, स्थानीय सरकार आफै अल्मलिएको अवस्था छ । त्यसै पनि पूर्वका अन्य सहरको तुलनामा धरान बजारमा खानेकुरा तथा लुगाकपडाको मूल्य बढी तिर्नुपर्छ उपभोक्ताले । त्यसमाथि कोरोना, डेङ्गुजस्ता स्वास्थ्य महामारीका बेला यहाँका नाफाखोर व्यापारीहरूले जथाभावी मूल्य वृद्धि गर्ने गरेका उदाहरण भेटिन्छन् । यो प्रवृत्तिलाई नियन्त्रण गर्नु जरुरी छ ।
धरान उपमहानगरपालिकाले केही दिनयता बजार अनुगमन त गरेको छ । तर, अनुगमन कर्मकान्डी खालको छ । विगतमा पनि चाडपर्व नजिकिन थालेपछि अनुगमन गर्ने नियमित परम्परा थियो । अहिले पनि त्यसरी नै अनुगमन भइरहेको छ । बजारका होटल, रेष्टुरेन्ट, सपिङ मल, उद्योगहरूमा पनि अनुगमन आवश्यक छ । त्यसभन्दा पनि अहिलेको सङ्कटको समयमा डेङ्गुसँग सम्बन्धित जस्तै मेडिकल, ल्याव, फलफूल पसल, खाद्यान्न पसलहरूको अनुगमन गरिनु आवश्यक छ । हालसम्मका धेरैजसो अनुगमन वर्षमा एकपटक गरिने र गल्ती भेटिएका ठाउँमा सुधार गर्न सुझाव दिने प्रचलन छ । तर, सुधार भयो कि भएन भनेर खोजी गर्ने फुर्सद कसैलाई हुँदैन । फेरि वर्षदिनमा त्यही प्रक्रिया दोहोरिन्छ । यसरी कर्मकान्डी अनुगमन गर्नुको कुनै अर्थ छैन । अनुगमनलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूसहितको टोली लिएर नियमित बजार अनुगमन गरिनुपर्छ । त्यसक्रममा भेटिएका कमजोरीहरूलाई वर्गीकरण गरेर सामान्य प्रक्रिया नमिलेकालाई सच्याउने अवसर दिनुपर्छ भने जानाजान बदमासी गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्छ । त्यस्तै लगातार अनुगमन गर्दा गल्ती दोहो¥याइरहने, मौकामा चौका हानेर कृत्रिम अभाव सिर्जना गर्ने, कानून विपरीत अधिक नाफा खाने, आफूखुसी मूल्य वृद्धि गर्ने, आम नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गर्नेजस्ता कार्यलाई निरुत्साहित गर्न कानूनी कारबाहीमा जानै पर्छ । तर, अहिले भइरहेका अनुगमन व्यापारीलाई तर्साउने र छाडिदिने प्रकृतिका मात्र देखिन्छन् ।
अनुगमन प्रभावकारी बन्न नसक्नु र दोषी भेटिए पनि कारबाही हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्तव्यस्तता पनि प्रमुख हो । बदमासी गर्नेहरू आफ्नो सुरक्षाका लागि कतै न कतै राजनीतिक दलहरूसँग जोडिएका हुन सक्छन् । उनीहरूलाई कारबाही गर्ने बित्तिकै नेताहरूले दबाव दिने प्रवृत्ति छ हाम्रोमा । किनभने तिनै नेताहरूलाई त्यस्ता व्यापारीले पालन–पोषण गरिरहेका हुन्छन् । चुनावमा खर्च दिन होस् या अरूबेला चन्दा दिन उनीहरूकै सहारा चाहिन्छ व्यापारीलाई । व्यापारीहरू कति शक्तिशाली हुन्छन् भन्ने बुझ्न गत साता इनरुवामा मेडिकल अनुगमनलाई उदाहरणका रूपमा लिन सकिन्छ । इनरुवामा मेडिकल तथा क्लिनिकहरूको अनुगमन गर्न पुगेको प्रशासनको टोलीलाई नै व्यापारीहरूले दुई घण्टा थुनेर राखे । यसबाट पनि उनीहरू कति जब्बर हुन्छन् भन्ने बुझ्न सकिन्छ । अहिले धरानको सन्दर्भमा अनुगमन गरेर कारबाही गर्न सहज हुनु पर्ने हो, किनभने स्वतन्त्र रूपमा विजयी भएका नगरप्रमुख हर्कराज राईलाई राजनीतिक दलको वा कुनै नेताको दबाव हुँदैन । उनले दोषीलाई कानूनी कारबाही मजाले गर्न सक्छन् । तर, उनमा यस्ता विषयमा ध्यानै छैन । आम नागरिकका आधारभूत आवश्यकतालाई बेवास्ता गरेर खाली ढुङ्गा बोक्न र बिरुवा रोप्न केन्द्रित उनको डेङ्गु महामारीमा बेवास्ता गरेको भन्दै चर्को आलोचना पनि भइरहेको छ । यस्तो बेलामा उपमहानगरपालिकाले बजार अनुगमन प्रभावकारी बनाउन सक्नुपर्छ । विगतमा जस्तो कर्मकान्डी बजार अनुगमन होइन, प्रभावकारी बजार अनुगमन गर्नु आवश्यक छ ।