विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धब थापाले आज बिहान १०स्३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीको पनि शपथ हुने जानकारी आएको र सोही अनुसार तयारी गरिएको श्रेष्ठले बताए ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याविनेटका मन्त्री दोहोरिने संकेत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारी बिहीन थिए ।
प्रदश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद पुगेका हुन् । गठन्धनको सरकार बनाउन सभामुख गौतमले मंगलबार नै पदबाट राजीनमा दिएका थिए ।
यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो ।