धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि एक दिने ‘सर्च एण्ड डिस्ट्रोय अभियान’का लागि विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यार्थीहरु अभियानमा सहभागी भएका छन् । 

उपमहानगरपालिकामा प्रकोपको रूपमा रहेको डेंगी नियन्त्रणका लागि आज सबै वडामा अभियान सञ्चालन गर्नका लागि विद्यालय बन्द  गर्ने निर्णय गरिएको थियो । अभियानमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूसमेत परिचालन गर्ने निर्णय गरेअनुसार विद्यार्थीहरु बिहानै आफ्ना पायक पर्ने क्षेत्रका घरघरमा डेंगी नियन्त्रणमा सहभागी भएका छन् । 

dengue abhiyan ma dharan blastkhabar.com

धरान ११ स्थित ज्ञानोदय माविका विद्यार्थीहरु बिहानै सर्च एण्ड डिस्ट्रोय अभियानमा प्लेकार्डसहित निस्किए । उनीहरुले आफ्ना क्षेत्रका प्रत्येक घरमा पुगेर डेंगीको प्रकोप फैलन सक्ने सम्भावित स्थानको निरीक्षण गर्दै सचेतना फैलाए । 

उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहेताका अनुसार हालसम्म २ हजार ४ सय ५९  जनामा डेंगी पोजेटिभ देखिएको छ । धरानमा डेंगीका कारण ८ जनाको मृत्यु भएको छ । 

प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले सोमबारबाट निःशुल्क डेंगी परीक्षण र उपचार शिविर सञ्चालन गरेको छ ।