वराहक्षेत्र २ रेल्वेलाइन स्थित पूर्वटोलमा गए राति बथानै आएका जङ्गली हात्तीले स्थानीयको घरमा क्षति पुर्याएको छ ।
स्थानीय मणि राई, अमृत घिमिरेकी आमाको घरमा पसेर हात्तीले बिझाइँ गरेको छ । घरको बारबेरा भत्काएर घरमा रहेको धान, चामल, पिठो सबै खाइदिएको पीडितले बताएका छन् ।
स्थानीयवासी युवराज भट्टराईका अनुसार २०–२२ वटाको सङ्ख्यामा आएका जंगली हात्तीले स्थानीयको घरबारीमा क्षति पुर्याएको हो ।
‘सानाठूला गरी २२ वटा हात्ती गाउँलेहरुले गनेका थिए,’ भट्टराईले भने, ‘उज्यालो हुँदै गएपछि जंगलमा लुक्ने, रात पर्न थालेपछि बस्ती पस्ने गर्दै आएका छन् । केराको झाङ एउटै छैन, फेदै लाएर खाएको छ ।’
स्थानीयले भारतीय हात्ती बथानमा आएको बताए । प्रत्येक वर्ष जेरमा आउने हात्तीले वराहक्षेत्रका बस्तीमा पसी धनमाल क्षति गर्ने र आक्रमण गर्ने गर्दै आएका छन् ।