कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भाग बन्डा मिलाउनको लागि सारिएको छ । 

यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साँझ ५ बजेसम्मका लागि सारिएको हो । थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको कार्यालयमा आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी  थियो । 

सोही  अनुसार प्रदेश  प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साँझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

गठबन्धनमा भाग बन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले  मन्त्रालयको बाँडफाट टुंगो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले  समय सारिएको बताए । 

थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । 

‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने ।

सत्ता गठबन्धन दल कांग्रेस र माओवादी भित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् । माओवादीमा समेत कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । 

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साँझ ५ बजेसम्मका लागि सरेको बताए । प्राविधिक कारणवस शपथग्रहण सारिएको जानकारी आएको उनले बताए ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किएका छन् ।