विर्तामोड । झापामा रहेका निजी विद्यालयले दिनुपर्ने अनिवार्य छात्रवृत्ति विद्यार्थीले नपाएको पाइएको छ ।
स्थानीय तहलाई प्रत्येक विद्यालयले वार्षिक रूपमा छात्रवृत्ति विवरण बुझाउनु पर्ने नियम भए पनि समयमा विवरण नबुझाएको र बुझाएका विद्यालयले समेत झुटो विवरण पेस गरेको अनेरास्वियु झापाका अध्यक्ष बलराम गिरीले बताए ।
बिर्तामोड नगरपालिकामा पनि १२ वटा विद्यालयले नगरपालिकाले तीन पटक सूचना प्रकाशन गर्दा पनि छात्रवृत्ति विवरण बुझाउन अटेर गरेका छन् । गिरीले ती विद्यालयले नियमानुसार छात्रवृत्ति नदिएको बताए । प्रत्येक निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनु पर्छ ।
गिरीले तत्काल अनुगमन गर्न माग गर्दै झापाका १५ वटै स्थानीय तहलाई ज्ञापन पत्र बुझाउने अभियान सुरु गरेको बताए । शिक्षा क्षेत्र सुधार तथा संविधानमा उल्लेख भएका मौलिक अधिकार कार्यान्वयन अनेरास्वियुले गर्न माग गरेको छ ।
जिल्लाको शिक्षा क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्न माग राख्दै झापामा १५ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने अनेरास्वियुको योजना रहेको उनले बताए ।
अनेरास्वियुका जिल्ला इन्चार्ज रोशन लामा, जिल्ला अध्यक्ष बलराम गिरीसहितको विद्यार्थीको टोलीले स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने, निजी शैक्षिक संस्थाले दिएको १० प्रतिशत छात्रवृत्तिको वितरण प्रभावकारी बनाइनुपर्ने, विभिन्न विद्यालयमा फरक शिक्षाका नाममा शुल्क असुल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरिएको छ ।