विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

आज बिहान १०  बजे लिने भनिएको शपथ ग्रहण भागबन्डा मिलाउन ढिलो हुँदा  थापाले साँझ साढे ५ बजेका लागि सरेको थियो । माओवादीका केन्द्रका बाबुराम गौतमलाई सभामुखबाट राजिनामा गराए  मुख्यमन्त्री बनेका थापाले शपथ लिएसँगै  गौतम सहित तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

360013724_1650322368727052_9071631966823448732_n

आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका  गौतमसहित भौतिक पूर्वाधार विकासमा नेकपा एकीकृत समाजवादीका कमल जबेगु र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा काँग्रेसका प्रदीपकुमार सुनुवार नियुक्त भएका छन् ।   उनीहरूले पनि पद तथा गोपनीयताको शपथ  लिएका छन् । 

 जबेगु र सुनुवार असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त  भएका थिए । 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलबार मुख्यमन्त्री नियुक्त गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।