धरान । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैधरूपमा ल्याउँदै गरेको ६१ बोरा सुपारी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ च ८९६७ नम्बरको पिकअपलाई शङ्का लागी चेकजाँच गर्दा बिल नभएको अन्दाजी २ हजार ८ सय ५० किलो सुपारी बरामद गरेको हो ।
उक्त सुपारीको मूल्य अन्दाजी १० लाख ८३ हजार रहेको प्रहरीले जनाएको छ । त्यस्तै करिब ५ लाख मूल्य पर्ने पिकअप गाडी पनि बरामद गरिएको छ ।
गाडीका चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं.७ बस्ने वर्ष १९ का आकाश धिमालसहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।