काठमाडौं । २०६३ पश्चात् प्रविधिमा रूपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आशा पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सीमित सङ्ख्यामा बने । २०६५ पश्चात् ‘कागबेनी’, ‘सानो संसार’ बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात् गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो ।
अभिनेता, पहिरन, छायाङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुवात गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।
चलचित्र ‘द कप’ मार्फत् निर्देशकीय यात्राको प्रारम्भ गरेका विश्वप्रख्यात निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चलचित्र भन्नेबित्तिकै मस्तिष्कमा निर्माण हुने चित्र हलिउड र बलिउडले स्थापित गरेको बताए । ‘ती उद्योगबाट निर्मित चलचित्र हेर्दै हेराइको विकास गरेका छौँ, त्यही कारण चलचित्र भन्नेबित्तिकै हाम्रो मानसपटलमा हिरो, हिरोइन, भिलेन, गीत र द्वन्द्वजस्ता स्थापित भाष्यको चित्र बन्छ’–उनले भने ।
सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत् अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक सुनिल पाण्डेले बताए । उनले भने, ‘पचासको दशकमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउँथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे, दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो ।’
चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार नेपाली चलचित्रको बजार अहिले बढेको छ । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले घरेलु बजारमा २३ करोडको व्यापार गर्नुले भविष्य उज्वल रहेको सङ्केत गरेको उनले बताए । छक्कापञ्जा शृङ्खला, जात्रा शृङ्खलाको बजार पनि उस्तै रहेको उनको भनाइ थियो ।
‘पछिल्लो समय चलचित्र जारीकै व्यापार हेर्ने हो भने स्वदेश झैँ विदेशमा पनि राम्रो दर्शक पाएको छ, यसको कुल व्यापारलाई मध्यनजर गर्ने हो भने नेपाली चलचित्रको बजारको आकार बढेको अनुमान गर्न सकिन्छ, दर्शक छन्, बजार छ, अब हामीले चलचित्र बनाउन सक्नुपर्छ’–निर्देशक देउजाले भने ।
मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउनसके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ’–उनले भने । उनी निर्देशित पछिल्लो चलचित्र ‘महापुरुष’ ले विदेशमा पनि राम्रो व्यापार गरेको थियो ।
मौलिक विषयलाई उठान गर्ने क्रम अहिले चलचित्रमा बढेको छ । प्रविधि झैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन् । आम मानिस झैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीकारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । (रासस)