धरानमा डेंगी संक्रमण प्रकोपका रुपमा फैलिरहेको अवस्थामा पानीको संचितीलाई जडका रुपमा व्याख्या भइरहेका बेला धरान १३ ले पानीको परीक्षण गर्न सेम्पल पठाएको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा रहेको ल्याबमा पानी पिउन योग्य छ वा छैन परीक्षण गरिदिन अनुरोध गर्दै धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले पत्राचार गरेका छन् ।
नगर प्रमुख हर्कराज राईले अभियानमार्फत विभिन्न खोलाका पानी सिधै ट्यांकीमा आउने गरी जडान गरेका छन् । नागरिकहरुले खानेपानीको ‘ट्रिटमेन्ट’ नगरी ट्यांकीमा हाल्ने गरेको र पानी धमिलो आउने गरेको गुनासो गर्दै आएका छन् ।
धरानमा डेंगीको प्रकोप बढ्नुका कारण खानेपानी नै हो भन्ने नागरिकको चरम गुनासो रहिआएको छ । गुनासो सम्बोधन गर्ने हिसाबले पानीको परीक्षण गर्न पठाइएको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।
‘तपाईं हामी धरानेले खाने सर्दु र खर्दुको मुहानबाट हाम्रो धारामा आउने पानीलाई धरान वार्ड न १३ को वार्ड समितिको धाराबाट एक लिटर पानीको सेम्पुल लियर ल्याबटेस्टको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा बुझाइयो ।’ स्थानीय घनश्याम तिम्सिनाले भनेका छन् ।