धरानको खानेपानीका विभिन्न स्रोतमा कोलिफर्म (दिसापिसाबमा पाइने किटाणु) पाइएको तथ्य फेला परेपछि आलोचित नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आधिकारिक परीक्षण नभएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी धरानका तर्फबाट सचिव सुमन श्रेष्ठले आफैं दुषित खानेपानीबाट पीडित भएपछि आफ्नै खर्चमा इटहरीस्थित खानेपानी मन्त्रालय अन्तर्गतको जल गुणस्तर परीक्षण ल्याबमा धरानका खानेपानीका विभिन्न स्रोतका पानी संकलन गरी परीक्षणका लागि दिएका थिए ।
गत साउन १६ मा ल्याबले दिएको रिपोर्टसहित आज धरान प्रमुख राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी धरानले ध्यानाकर्षण गराएको छ । नगर प्रमुख राईले ध्यानाकर्षण प्रतिवेदन बुझ्दै सतहको पानी संकलन गरेर वितरण गरिएकाले समस्या रहेको स्वीकार गरेका थिए । उनले गुणस्तरीय पानी वितरण गर्न प्राविधिकको सल्लाहबमोजिम आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर रात पर्नासाथ नगर प्रमुख राईले फेसबुकमा भने रास्वपाको ध्यानाकर्षण र प्रतिवेदनविरुद्ध विषवमन गरेका छन् । नगर प्रमुख राईले फेसबुकमा आफूले गरेको परीक्षणमात्र आधिकारिक हुने बताएका छन् । उनले अनुमति नलिई पानीको परीक्षण गरेकामा समेत आपत्ति जनाएका छन् ।
उनले तुच्छ भाषाको प्रयोग गर्दै फेसबुकमा लेखेका छन्– ‘त्यो परीक्षण गरिएको पानी हाम्रो खानेपानी कै थियो भन्ने प्रमाण के छ ? ऐरे गैरे नत्थु खैरेले जाँ पायो त्यहीँको पानी परीक्षण गरेर दोष्ने ? कस्ले दियो हाम्रो पानी परीक्षण गर्ने अनुमति ? हाम्ले गराएको परीक्षण मात्रै आधिकारिक हो है ! ’
पानीमा कोलिफर्म भेटिएको प्रतिवेदनसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष राजेशमान श्रेष्ठसहितको टोली बिहिबार नगर प्रमुख राईलाई ध्यानाकर्षण गराउन पुगेको थियो ।
७ ठाउँको नमूना पानीमा ‘कोलिफर्म’ को मात्रा ३५ सम्म भेटिएको थियो । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा हुनु हुँदैन ।
रिपोर्टअनुसार फुस्रेस्थित रिजर्भवेयर ट्यांकीको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा ३० भेटिएको थियोे भने विजयपुर ट्यांकीबाट आउने गौधाराको पानीमा ३५, खर्दु खोलाबाट ट्यांकीमा मिसाइएको पानीमा १५, सर्दुको पानीमा १०, निशाने ट्यांकीको पानीमा २० र विष्णुचोकस्थित कोका खोलाबाट ल्याइएको पानीमा कोलिफर्मको मात्रा ५ भेटिएको छ ।
नगर प्रमुख राईको नेतृत्वमा सञ्चालन गरिएको अभियानबाट ल्याइएको पानी सिधै ट्यांकीमा मिसाइएको नगरवासीको गुनासो छ । ‘ट्रिटमेन्ट’ र परीक्षण नगरिएको पानीले रोगको संक्रमण भित्रिएको भन्दै नगरवासीले गुनासो गर्दै आएका छन् ।
यसैबीच धरान १३ वडा कार्यालयले समेत पानीको परीक्षणका लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा पानीको ‘सेम्पल’ पठाएको छ ।