भद्रपुर । भारतको सिलिगुडीबाट काठमाडौँ चल्ने रात्री बसमा भन्सार छली गरेर ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

बुधबार अपरान्ह ५ बजेको समयमा सीमामा जाँच गर्ने क्रममा दुई लाख ७० हजार ३ सय ५० रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पूर्वी नाकाको भन्सार गेटमा जाँच गर्ने क्रममा डब्लु बि १९ एल ६१६१ भारतीय नम्बरको बसबाट उक्त सामान बरामद भएको उनले बताए  ।

बसमा गाडी छोप्ने कवर २३ थान, सुटकेस ग्लोब एक प्याकेट, जुत्ता ९ जोर, चप्पल ३ जोर, जिन्स पेन्ट एक थान, लेडिज ब्याग ३ थान, हाप पाइन्ट १८ थान, जम्पट एक थान, भेष्ट ५ थान, बिजुलीको तार ५ रोल र गाडीको हर्न ३७ थान रहेको उनले जानकारी दिए ।

दुई देशबीचको यातायात सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको सिलिगुडीबाट काठमाडौँसम्म बस सेवा गत वर्षदेखि सञ्चालनमा आएको थियोे ।

त्यसैगरी सशस्त्र प्रहरीले दक्षिणी झापाको कचनकवल नाकाबाट अवैधरूपमा भन्सार छलेर भिœयाएको १२ बोरा सुर्ती बरामद गरेको छ । पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले कचनकवल–६ स्थित  बनियानी चोकबाट बरामद गरेको हो ।

पथरिया बगानबाट आउँदै गरेको बुलेट नामक रातो बसलाई बिहीबार बिहान करिब साढे ५ बजे चेकजाँच गर्दा बेवारिसे अवस्थामा बसभित्र राखिएको १२ बोरा अर्थात् २ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्रले जनाएको छ । बरामद गरिएको बोरामा भारतीय ब्रान्डका बादशाह सुर्ती रहेको छ । बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ ।

कचनकवल नाकाबाट यही वर्षको जेठ महिनामा कचनकवल हुँदै भारततर्फ लैजाँदै गरेको पिकअप गाडीसहित ५ सय ७१ कार्टुन स्याउ सशस्त्र प्रहरीले बरामद गरेपछि केही समयका लागि रोकिएको तस्करी पुनः मौलाएको छ ।