धरान वडा नम्बर १५ ले वार्षिक समीक्षा कार्यक्रम तथा वडाको समसामयिक विषयमा समीक्षात्मक कार्यक्रम आयोजना गरेको छ ।
वडाले आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्षको वडागत बजेट विनियोजनको अवस्था सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षमा वडाले विभिन्न कार्यक्रमका लागि कुल बजेट १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । साथै वडाको दायित्व ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
वडाले पूर्वाधार विकासमा ६० प्रतिशत रकम विनियोजन गरेको र बाँकी लक्षित वर्गका लागि छुट्याइएको वडा सचिव नारायण राईले जानकारी दिए ।
वडाध्यक्ष नरेश इवारमको सभाध्यक्षतामा आयोजित समीक्षा कार्यक्रममा वडा सदस्यहरु सिर्जना नेपाल, रचना नेपाली, रंगलाल गिरी, बादल भट्टराईको उपस्थिति रहेको थियो । साथै वडाका ३९ टोल विकास संस्था, २९ सामाजिक संघसंस्था, १९ बालसञ्जाल र २ प्रहरी कार्यालयका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिति थियो ।
वडाको शिक्षा सदन माविको सभाहलमा आयोजित कार्यक्रममा धरानमा प्रकोपका रुपमा फैलिरहेको डेंगी नियन्त्रण, स्वच्छ खानेपानी वितरणबारे समेत छलफल गरिएको थियो ।