सार्वजनिक सवारी साधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तीव्रता दिएको छ । 

अभियानको क्रममा लापसे गरी सवारी चलाउने ९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले शुक्रबार लापसे चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो । 

लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले चालेको अभियानअन्तर्गत विराटनगर १६ स्थित दक्षिणगेटमा सवारी साधन चालकलाई चेकजाँच गर्ने क्रममा ९ जनाको लापसे ‘पोजेटिभ’ देखा परेपछि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

यसरी परीक्षणको क्रममा लापसे गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारबाहीको दायरामा ल्याउने उनले बताए । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागूपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको इप्रका रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । 

ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई समेत निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे–नगरेको पत्ता लाग्छ । 

ट्राफिक प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । 

तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।

 ‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । 

यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उद्देश्य रहेको श्रेष्ठले बताए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ । 

किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे–नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । 

‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात् रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’ 

लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख श्रेष्ठ, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दरश्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यसैगरी शुक्रबार नै लापसे सेवन गरेका ५० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रशिक्षण पश्चात्  छाडेको थियो ।


सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउँदै मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल कुमार श्रेष्ठ । तस्बिरः ब्लाष्ट/अनिल