झापा । यु–ट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’ को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।
‘सामाजिक सञ्जालमा देखेका सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो’ गौरीगञ्ज गाउँपालिका–२ स्थित नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको अवस्था छ ।’
उनले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । विगत दुई वर्षअघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर, दाम भने प्रतिकिलो दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ ।
उनले युट्युबमा हेर्दा ड्रागन फल मीठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर त्यसको खेती सुरु गरेको बताए । प्रतिकिलो एक हजारसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, अहिले बजारमा यसको भाउ आधाभन्दा बढी घटेको उले सुनाए ।
थापाले सुमेरु कृषि फार्म प्रा.लि. स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गरेका हुन् । गतवर्ष नै उनको फार्ममा फल लाग्न थालेका थिए । यसपालि त लटरम्मै फलेका छन् ।
दमक, बिर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पु¥याएर बेच्दा पनि बढीमा प्रतिकेजी पाँच सय पाएको उनले बताए । धेरै फल टिप्नु परेका बेला घाटा बेहोरेर प्रतिकेजी दुई सयमा पनि बिक्री गरेको हुँदा ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिम बढेको उनको भनाइ छ ।
बुद्धशान्ति गाउँपालिका–१ मा ब्रह्माकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताए ।
उनले १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । खेतीका लागि बनाइएको सिमेन्टको पिलर र त्यसमा बिरुवा अड्याउने टायरको दामसमेत महँगिएको उनले बताए ।
श्रमिकको ज्याला, मलखादको मूल्यलगायतको दाम बढिरहेको जनाउँदै उनले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताए । गत असार १५ गतेदेखि फल टिप्न सुरु भइसकेको छ भने कात्तिक अन्तिमसम्म फल पाकिसक्ने भए तापनि अहिले फल पाक्ने उच्च सिजन हो ।
उनले गतवर्ष फार्मबाटै न्यूनतम् प्रतिकेजी छ सयमा बिक्री गरेको ड्रागन फलको मूल्य हाल आधासम्म ओरालो झरिसकेको छ । उनले सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्बिर पोष्ट्याएर बिक्री बढाउने उपाय खोजिरहेका छन् ।
कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीमा लागेका किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने गरेको जनाएको छ ।
ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतवर्ष सात लाख अनुदान पाएको थियो । अरू किसानले पनि अनुदान पाएका छन् ।
सुमेरु कृषि फार्मका सञ्चालक भूपेन्द्र थापाले गतवर्ष १२ लाखको ड्रागन फल बिक्री गरेको बताए । यसवर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उनले आम्दानी घट्ने बताए ।
कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले पाँच सय ६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन छ सय ८५ मेट्रिक उत्पादन भएको थियो ।
मूल्यमा अस्थिरता भए तापनि ड्रागन फलको खेतीमा किसानको आकर्षण बढिरहेको दाबी उनले गरे । जिल्लाको गौरादह, दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र गौरीगञ्ज, बुद्धशान्ति, कमल, झापा गाउँपालिकामा यसको व्यावसायिक खेती भइरहेको छ ।