साउन ६ गतेदेखि सञ्चालन हुँदै आएको ग्रीन एण्ड क्लीन धरान अभियानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना र सुनसरी जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी समेत सहभागी भएका छन् । नेपाली काँग्रेस, सुनसरी क्षेत्र नम्बर १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान धरान ८ मा पुग्दा ढुङ्गाना र भण्डारी सहभागी हुन आएका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले सरसफाइ र स्वच्छ वातावरण मानवका लागि अति आवश्यक रहेकाले क्षेत्रीय कार्यसमितिले धरानमा ल्याएको एक घर एक बिरुवा रोपौँ, सरसफाइ गरौँ, डेङ्गी नष्ट गरौँ अभियान अत्यन्त सान्दर्भिक रहेको बताएका छन् ।
त्यसै गरी इनरुवा नगर प्रमुख समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारीले धरान डेङ्गीले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रेय अभियान समेत सञ्चालन गर्न र धरानलाई सुन्दर, सफा र हरियाली बनाउन १ नं। क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरान अभियानमा पार्टीका सबै तह र तप्काका साथीहरू लाग्नुपर्ने बताउँदै अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीका माथिल्लो तहका नेताहरू समेत सहभागी भइदिँदा हौसला र उत्साह थपिएको बताउँदै धरानले झेलिरहेको डेङ्गी महामारीलाई उन्मूलन गर्न राज्यको प्रयास पर्याप्त हुन नसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक सङ्घसंस्था र नागरिक आफै पनि सचेत भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरान अभियान भदौ १० गतेसम्म सञ्चालन हुने सभापति तामाङले जानकारी दिएका छन् ।