काठमाडौँ । एनसेलले यो वर्ष २ महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गरेको जनाएको छ ।
हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको एनसेलको दाबी छ । यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा नारायणी, कनकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरूमा एसएमएसमार्फत् पूर्वसूचना प्रवाह गरिएको एनसेलले विज्ञप्ति जारी गरेर जनाएको हो । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत, एनसेलले विशेषगरी वर्षायाममा जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत् प्रवाह गर्दै आएको छ । यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न सङ्घ–संस्थाहरूलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पु¥याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएसमार्फत् नै पाउँछन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत् बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ । एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।’
जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनहरूमार्फत् नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरूप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरूलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, सम्भवतः सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत् बाढीको जोखिमसम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यममध्ये एक बनेको छ ।