दृश्य नं. १ः ‘तपाईंहरू मान्छे हो कि के हो, बुझ्नु हुन्न ? यहाँ मन्दिरभित्र फोटो खिच्न हुन्न भन्दा भन्दै किन खिच्न खोज्नुभएको ? त्यहाँ ठूलठूला अक्षरमै बोर्डमा लेखिएका छन् त,मन्दिरभित्र फोटो नखिच्नु भनेर, पढ्न जान्नुहुन्न कि अटेर गर्नुभएको ? हेर्दा त पढेलेखेको देखिनुहुन्छ, पढ्न आउँदैन भने पनि सोध्ने मुख त छ त ?’ मन्दिर हेरालु रिसाएपछि भक्तजनले भन्दै थिइन्, ‘मैले खिचेकी छैन, खिच्नलाई मोबाइल मात्र झिकेकी हुँ ,नपत्याए मेरो मोबाइल हेर्नुस् ।’ मन्दिर परिसरका हेरालुले भनिन्, ‘अहिले मैले नभनेको भए त मन्दिरभित्र नै फोटो खिच्नुहुने रहेछ, होइन त ?’ यत्ति सुनेपछि हेर्दा सम्भ्रान्त अनि शिक्षित देखिने ती भक्तजन चुपचाप भइन् ।
दृश्य नं.२ः सार्वजनिक बाटामा बाटै ढाकिने गरी दुई–तीन समूहका नवयुवतीहरू टिकटक बनाउँदै थिए । बाटोमा हिँड्नु पर्ने बटुवाहरू अलमलमा परेका देखिन्थे । सोही बाटोमा हिँड्ने कुनै कुनै युवकहरू निकै लोभिएर तिनीहरूलाई हेर्दै पनि थिए । ती नवयुवतीहरू कसैको पर्वाह नगरी आफ्नै धुनमा अभिनय गर्दै, नक्कल पार्दै आफैमा व्यस्त थिए । अभिनयमा रमाउँदै गरेका तिनीहरूको सन्तुलन बिग्रियो र त्यही बाटोमा नराम्रोसँग लडे । तिनीहरूलाई उठाउन छोडेर त्यहाँ रमिता हेरेर बसेका ती युवकहरू गललल हाँसे । त्यसपछि तिनीहरू आफै उठी रिसाउँदै, खुट्टा बजार्दै त्यहाँबाट हिँडे ।
दृश्य नं.३ः ‘हामी यो ठाउँमा आइपुगेका छौं, यहाँ यस्तो छ, उस्तो छ, तपाईंहरू लाइभ भिडियो हेर्दै हुनुहुन्छ । हाम्रो फेसबुकमा पनि अपलोड गरिसकेका छौं, यो भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु है ।’
सामान्य देखिने यी दृश्यहरू प्रतिनिधि घटनाहरू मात्र हुन् । यसका धेरै रूप र रङ्ग छन्, जुन बयान गरेर साध्य छैन । अचेल हरेकको हातमा आधुनिक किसिमका मोबाइलहरू छन् । मोबाइलले धेरैको जीवनस्तर उठाउन सहज भूमिका पनि खेलेका होलान् । कतै जाँदा अविस्मरणीय पललाई मोबाइलमा कैद गर्नु स्वभाविक प्रक्रिया पनि हो । यसलाई अन्यथा मान्ने कुनै कुरै भएन । तर फोटो खिच्दा कता खिच्ने, खिच्न मिल्छ कि मिल्दैन भन्ने कुराको हेक्का राख्नु अति आवश्यक हुन्छ । मन्दिर परिसरमा पस्दा फोटो खिच्न मिल्ने नमिल्ने थाहा पाउनु पर्दछ होइन भने बेकारमा भनाइ खानु पर्ने अवस्था पनि आउन सक्दछ, जसले गर्दा तपाईंको रोमाञ्चक यात्रा अलिकति खल्लो हुन सक्दछ । त्यसैले हामी मानव भएर सभ्य पनि बन्नु पर्दछ, जुन आजको आवश्यकता पनि हो ।
अहिले टिकटककै जमाना चलेको देखिन्छ । बच्चादेखि कतिपय अधवैंशेहरू पनि टिकटकमा नाचिरहेका देखिन्छन्, अभिनय गरिरहेका देखिन्छन् । एक किसिमले आफ्नो भए भरको काम सकेर फुर्सदमा आफू व्यस्त हुनु र प्रविधिको मजा उठाउनु नराम्रो मान्न नसकिएला तर आफ्नो व्यवहारले अरूलाई कस्तो भइरहेको छ ? हेर्ने आँखाहरू कस्ता छन्, आफूहरू एकान्त स्थल वा खतरनाक स्थानमा पो छु कि भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । सार्वजनिक बाटो अरूका लागि पनि हो, हिँड्नेलाई हिँड्न दिनु पर्दछ, आफैले बाटो पूरै ढाकेर बस्नु हुन्न भन्ने कुरा थाहा पाउनु पर्दछ अनि यस्तो बेलामा आफू लडिन्छ कि भनेर सावधान र सचेत पनि हुनु पर्दछ । टिकटक बनाउने वा फोटो खिच्ने क्रममा कतिले लडेर आफ्नो ज्यान पनि गुमाएको समाचारमा नआएको होइन ।
त्यस्तै अचेल हरेकका फेसबुक एकाउन्ट छन् । कोही युट्युब भिडियो बनाउन माहिर हुन्छन् । आफू गएका ठाउँको सुन्दर फोटाहरू हाल्छन् । यो कुनै नौलो कुरो भएन तर तपाईंहरू गएको ठाउँको लाइभ भिडियो फेसबुकमा हाल्दा आपराधिक घटना पनि घट्ने सम्भावना हुन्छ किनकि तपाईं कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने कुरा तपाई आफैले सबैलाई जानकारी दिएपछि चोर वा आपराधिक मनोवृत्ति भएकाहरूलाई तपाईंको घर लुट्न वा परिवारका सदस्यहरूलाई हानि नोक्सानी पुर्याउन सघाउ पुग्न सक्दछ । तपाईंप्रति रिस इबी साधेर मौकाको प्रतीक्षा गरेर बसेका तपाईंका दुश्मनले तपाईं नभएका बेला तपाईंका घरपरिवारका सदस्यहरूको अहित हुने काम गर्न सक्दछ अथवा तपाईंमाथि नै आक्रमण पनि गर्न सक्दछ । आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले जुनसुकै बेला जे पनि गर्न सक्ने हुनाले यस्ता कुराहरूमा तपार्इं हामी आफै सधैँ सचेत र सजग हुनै पर्दछ । बरू घुम्न गएको स्थानबाट फर्केर आफ्नो घर आइसकेपछि ती दृश्य वा आफूले खिचेका फोटाहरू धमाधम फेसबुकमा हाल्दा ती स्थानहरूको महत्व घट्दैनन् ।
प्राकृतिक मनोरम दृश्यहरूले भरिपूर्ण भएको नेपालका विभिन्न ठाउँहरू घुम्नु पनि पर्छ, धार्मिक पर्यटनलाई पनि आफ्नै ढङ्गले महत्व दिनु पर्दछ, जसले गर्दा आन्तरिक पर्यटनलाई टेवा पु¥याउँदछ । यसले मानवलाई एक किसिमको स्फूर्ति दिन्छ, ऊर्जा दिन्छ । तर, यी सबै मामलामा हामी सबै सभ्य, सजग र सतर्क भने हुनै पर्दछ अनि मात्र पर्यटनको रस्वास्वादन गर्न सकिनेमा दुईमत नहोला ।