बिर्तामोड । कोशी प्रदेशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बिर्तामोड अस्तव्यस्त छ । जनताद्वारा निर्वाचित कार्यकारी अधिकारसहितका जनप्रतिनिधि आएको ६ वर्ष बितिसक्दासमेत बिर्तामोडका मुख्य एजेण्डाहरू सम्बोधन हुन सकेका छैनन् । जुन एजेण्डा तिनै जनप्रतिनिधिले निर्वाचनताका अघि सारेका हुन् ।
बिर्तामोडको मुख्य समस्या सहरको व्यवस्थापन नै हो । सहर व्यवस्थित नहुँदा सवारी पार्किङदेखि किनमेल गर्न आउनेसम्मले सास्ती खेप्नुपरेको छ । फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयदेखि आगन्तुकसम्मले नाक थ्ुनेर हिँड्नुपर्ने बाध्यता छ । जनताका निजी जमिनमा फोहोर थुपार्दै आएको बिर्तामोड नगरपालिकाले यसको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन ।
सार्वजनिक शौचालयबारे सोच्ने फुर्सद छैन
बिर्तामोड सहरको जनसङ्ख्या डेढ लाख बढी छ । यहाँ अरू लाख हाराहारी बसोबास गर्छन् । दैनिक कारोबार गर्न आउनेको सङ्ख्या पनि लाखौं छ । पूर्वका चारवटा पहाडी जिल्लाका बासिन्दाको दैनिकी बिर्तामोडबाट नै चल्छ ।
पूर्वको बुट्टाबारीदेखि पश्चिममा लक्ष्मीपुरसम्म सडक आसपास सार्वजनिक शौचालय छैन । यस विषयमा जनप्रतिनिधिलाई कुनै चासो पनि छैन । जनप्रतिनिधिसँग यो बारेमा प्रश्न गर्दा पेट्रोल पम्प, होटल, सुपर मार्केटमा गएर शौच गर्न सुझाव दिन्छन् । यो जनप्रतिनिधि चयन हुनुअघिकै एजेण्डा हो । बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदा घण्टौं दिसा पिसाब रोकेर घर फर्किनुपर्ने सर्वसाधारणको बाध्यता छ ।
अहिलेसम्म बनेन डम्पिङ साइट
बिर्तामोडको मुख्य समस्या भनेको फोहोर व्यवस्थापन हो । यस विषयमा जनतालाई पटक–पटक झुक्याउने बाहेक दीर्घकालीन समाधान हुन सकेन । कनकाई नगरपालिकामा निर्माण भएको बायोग्याँस प्लाण्टमा फोहोर लैजाने भनेर चार वर्ष आश्वासन दिएका जनप्रतिनिधिले अहिलेसम्म एक गाडी फोहोर पनि त्यता लान सकेका छैनन् । प्लान्ट निर्माण सम्पन्न भइसकेपछि पनि त्यो सञ्चालनमा आउन सकेको छैन । प्लाण्ट निर्माणमा बिर्तामोड नगरपालिकाको पनि लगानी छ ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले भने काम हुँदै गरेकाले केही समय पर्खिनुपर्ने बताए । बिर्तामोडको गरामनी क्षेत्रमा डम्पिङ साइट बनाउने योजना अघि सारेको पाण्डेले जानकारी दिए । उनले नगरले आफै जमिन खरिद गरेर फोहोर व्यवस्थापनको समस्याको दीर्घकालीन समाधान खोज्ने तयारी भइरहेको बताए । हाल बिर्तामोडको फोहोर हप्तौंसम्म उठ्न सकेको छैन ।
बिर्तामोडमा छैन पार्किङ
बिर्तामोडमा अर्काे मुख्य समस्या पार्किङको हो । सवारी साधनसमेत राख्ने उचित स्थान नहुँदा बिर्तामोडमा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । बिर्तामोडको मुख्य सडक शनिश्चरे रोड र भद्रपुर रोडको दुवैतर्फ एक किलोमिटरभन्दा धेरै सवारी पार्किङ हुने गरेको छ । जसका कारण आवत–जावतमा समस्या र दुर्घटना पनि बढ्दो छ । ठूला–ठूला व्यापारिक भवनहरू र वित्तीय कारोबार गर्ने संस्थाहरू यिनै सडक आसपासमा रहेकाले सधैँ अस्त–व्यस्त रहने गर्छ । यो विषयमा नगरमा एजेण्डा उठेपनि निष्कर्ष आउन सकेको छैन ।
कतिपय ठूला व्यापारिक मलहरूले निर्माण गरेको पार्किङ पनि व्यापारिक प्रयोजनमा लगाएका छन् । झापाको ठूलोमध्येको हनुमान सेन्ट्रल, मेघा कम्प्लेक्सलगायतको पार्किङ स्थल छैन । उनीहरू सडकको जमिनमा सवारी पार्क गराएर व्यवसाय चलाइरहेका छन् । नेपाल बैङ्कबाहेक अन्य वित्तीय संस्थाको बिर्तामोडमा आफ्नो पार्किङ छैन । जसका कारण घण्टौंसम्म सडकमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।
कषिथोक बजारः परिवर्तनको महसुस नै भएन
कोशी प्रदेशकै सबैभन्दा ठूलो कृषिथोक बजारले हालसम्म परिवर्तनको महसुस गर्न पाएको छैन । बिर्तामोडको कृषिथोक बजारमा नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यानमार, चीनलगायतका बजारबाट आयात भएका फलफूल तथा तरकारीको कारोबार हुने गरेको छ । तर, बजार व्यवस्थित नहुँदा फलफूल र तरकारीसँगै रोग पनि किनेर लानुपर्ने उपभोक्ताको बाध्यता छ ।
कृषिथोक बजार प्रवेश गर्ने बित्तिकै दुर्गन्धले मुख छोप्नुपर्ने बाध्यता त छ । त्यहाँ रहेको विषादी मापन गर्ने प्रयोगशाला बन्द हुँदा जनताको चुल्होमा विषादी पुग्ने गरेको छ । वर्षाको समयमा डुबानमा पर्ने कृषिथोक बजारको पहिचान हो । हिउँदमा धुलोले पुरिनुपर्ने उपभोक्ताको गुनासो छ ।
कृषिथोक बजारलाई व्यवस्थित गरेर हातबाट झरेको खानेकुरा टिपेर खानसक्ने बनाउँछु भन्ने यसअघिका मेयर ध्रुवकुमार शिवाकोटीले माखोसमेत मारेनन् । अहिलेका मेयर पवित्रा महतारा प्रसाईंले पनि त्यसतर्फ चासो दिन सकेकी छैनन् । कृषिथोक बजार नगरपालिकाको मातहतमा नरहेको भन्दै जनप्रतिनिधि सधैँ पन्छिन मात्र चाहन्छन् । नीतिगत समस्या देखाउँदै भाग्न जनप्रतिनिधिलाई बलियो बहाना कृषिथोक बजार भएको छ ।
खानेपानीः दलीय अड्डा
देशमै उत्कृष्ट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था भनेर चर्चा कमाएको बिर्तामोड खानेपानी सबैको पहुँचमा पुग्दैन । मिटर जडान गर्दा नै महँगो शुल्क तिर्नुपर्ने भएका कारण विपन्न समुदायको पहुँचमा छैन । अहिले पनि बिर्तामोडमा आर्सेनिक युक्त चापाकलको पानी खानुपर्ने बाध्यता रहेको छ । त्यसमा पनि एउटा दलको नेतृत्वमा चलेको संस्था भएका कारण अर्काे दल समर्थक उपभोक्ताले मिटर जडान गर्नुपरे सास्ती व्यहोर्नु पर्छ ।
बिर्तामोड नगरपालिका र खानेपानी संस्थाबीच समन्वय नहुँदा सर्वसाधारणले सहजरूपमा मिटर जोड्न पाउँदैनन् । यसमा दलीय कारण नै प्रमुख हो । मिटर जडानमा लचिलो नभएका कारण बिर्तामोडमा हालसम्म करिब ९ हजार उपभोक्ताले मात्र मिटर जडान गर्न पाएका छन् ।
उद्योगः न नियम, न कानून
बिर्तामोडमा साना–ठूला गरी झण्डै तीनसय उद्योग छन् । इँटाभट्टा, प्लाइ फ्याक्ट्री, भेनियर उद्योग, सिमेन्ट उद्योग, गार्मेन्ट, ब्लक उद्योग, स्टिल फ्याक्ट्री, कलर उद्योग, चिया उद्योग, विभिन्न खाद्यान्न उद्योग यहाँ सञ्चालनमा छन् ।
ती उद्योगहरूमा न अनुगमन हुन्छ, न नियमानुसार राजश्व सङ्कलन नै हुन्छ । बिर्तामोडको २ नं. वडालाई औद्योगिक क्षेत्र घोषणा गरिएको छ । त्यहाँमात्र दर्जनौँ उद्योग सञ्चालनमा छन् । त्यहाँ कार्यरत ८० प्रतिशतभन्दा बढी मजदुर भारतीय रहेका छन् । यहाँबाट करोडौँ रकम बाहिरिने गरेको छ । त्यस विषयमा नगरले थाहा पाएर पनि केही गर्न सकेको छैन ।
नेपाली मजदुरले रोजगार नपाएर विदेशिनु पर्ने बाध्यता रहे पनि नेपाली मजदुरलाई रोजगार दिलाउन नगरले कुनै योजना बनाउन सकेको छैन । यति मात्र होइन, कुन उद्योगमा कति मजदुर कुन देशका छन् भन्ने कुराको लेखाजोखा पनि नगरले गरेको छैन । स्थानीयले त्यहाँबाट उत्पन्न हुने प्रदूषण र कोलाहल झेल्नबाहेक अन्य केही पाउन सकेका छैनन् ।
घरबहाल करः उठाउनै सकस
बिर्तामोडको प्रमुख आन्तरिक आम्दानी भनेकै घर बहाल कर हो । तर, यहाँका सम्पन्न घरानाका व्यक्तिहरूको दबावका कारण ६ वर्षदेखि घरबहाल कर उठ्न सकेको छैन । घर भाडामा लगाए बापत घरधनीले आम्दानीको १० प्रतिशत बहालकर बुझाउनु पर्ने हुन्छ । तर, अहिलेसम्म यसलाई व्यवस्थित गर्न नगरले सकेको छैन ।
यहाँ हजारौँ व्यावसायिक फर्म छन् । त्यसैगरी हजारौँ कोठा भाडामा लिएर आवासमा प्रयोग भएका छन् । यस बापत करोडौं रकम सङ्कलन हुनुपर्नेमा अहिले सङ्कलन नगण्य छ । फर्मको नवीकरणमा अनिवार्य बहालकर तिरेको रसिद नखोज्ने हो भने यो करसमेत शून्य हुने अवस्था छ ।
यस्ता बग्रेल्ती समस्या बिर्तामोडमा छन् । समस्या समाधान गर्छौं भनेर निर्वाचित जनप्रतिनिधिले वाचा गरेको पनि ६ वर्ष बितिसक्यो । समस्या समाधान त कता हो कता उनीहरू नै अलमलिएको पाइन्छ । बिर्तामोडमा भौतिक विकास धेरै गरियो भन्ने हल्ला फैलाए पनि मुख्य समस्यामा भने जनप्रतिनिधिहरू प्रवेश गर्ने सकेका छैनन् ।