विराटनगर  ।  निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि मोरङ जिल्लाका ५ वटा स्थानीय पालिका जोडिने हाटखोला– रंगेली हुलाकी सडक नबनेपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निर्माण कार्यमा ढिला सुस्ती भएको भन्दै यहाँका स्थानीयले सडक निर्माण हुनुपर्ने माग राख्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 

नागरिक सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गर्दै विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका छन् । धर्नामा नेपाली काँग्रेस, एमाले, माओवादी, जसपा र कटहरी उद्योग वाणिज्य संघले पनि समर्थन गरेको छ ।

हुलाकी सडक समयमै निर्माण नहुँदा झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पुरा हुने छाँटकाँट छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा  ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुङ्गो छैन । संघ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन । नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो ।

 सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरीका स्थानीय तथा  नागरिक सङ्घर्ष समितिका सदस्य सञ्जय मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा  खानामा धुलो खान बाध्य भएको उनले सुनाए । 

‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’

एक महिनायता सडकको काम ठप्प पारेका छन् । बिना जानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाको समेत सम्पर्कमा छैनन् । बनाउँदा–बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौँदेखि समस्या भोग्न विवश बनेका छन् ।

स्थानीय यादवले पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए । धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतालाई लिएर आन्दोलनमा उत्रिनु परेको नेकपा माओवादी केन्द्र कटहरीका अध्यक्ष किशोर कुमार पाण्डेले बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । निर्माण काम सुरु नगरे आन्दोलन सशक्त पारेर अगाडी बढ्ने उनले बताए । 


मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रक खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । 

२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । 

सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ । 

ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँच वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।