भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गरेका छन् ।
सन १९९० मा भुटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहेका छन् । उनले भुटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गरेका हुन् ।
विर्तामोडमा पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले भुटानमा दिनानुदिन सङ्कट चुलिइरहेको, राष्ट्रियता र प्रजातन्त्र जोखिममा रहेको लगायतका कारण जनाउँदै देशभित्रको राजनीतिक समस्या राष्ट्रिय मेलमिलापको नीतिबाट मात्र हल गर्न सकिने भएको हुँदा भूटानका राजालाई पत्र पठाएको जानकारी दिए ।
उनले हाल भुटानको पारो, चाम्गाङ, राबुना, मोन्गार, साम्दरुपजोङ्खारलगायतका विभिन्न जेलमा दुई सयभन्दा बढी राजबन्दी बिना सुनुवाइ थुनिएको जनाउँदै प्रजातन्त्र र मानव अधिकारको आन्दोलनमा सहभागी हुँदा कठोर जेल जीवन बिताइरहेको ती सबैलाई बिना सर्त रिहाइ गर्न भुटानी राजालाई आग्रह गरेका छन् ।
‘भुटान नै नरहने हो कि भन्ने किसिमको चिन्ता शुरु भइरहेको छ, पौडेलले भने, ‘आफ्नो भाषा, संस्कृति र प्रजातान्त्रिक अधिकारका लागि आवाज उठाउँदा दक्षिण भुटानका डेढ लाख नागरिकलाई ३० वर्षअघि अन्यायपूर्वक देश निकाला गरियो । वर्तमान राजालाई हामी ती सबै राजबन्दीलाई बिनासर्त रिहाइ गरेर भुटानमा राष्ट्रिय मेलमिलापको नीति अपनाउन हार्दिक अपिल गर्दछौँ ।’
अध्यक्ष पौडेलले दक्षिण भुटानबाट देश निकालामा परेका २० प्रतिशत भुटानी नागरिकहरु हाल कतिपय शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनःस्थापना भइसकेको र कतिपय हालसम्म पनि शरणार्थी शिविरमा दर्ता भई झापा र मोरङमा कष्टकर जीवन बिताइरहेको विषयमा पत्रमार्फत भुटानी राजालाई अवगत गराएका छन् ।
उनका अनुसार डेढ लाख भुटानी शरणार्थीमध्ये सात हजारको सङ्ख्यामा अझैसम्म शिविरमा रहेको र अरुहरु तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुगेका र शिविरभित्रै बसिरहेका सबै भुटानी शरणार्थीहरु आफ्नो देश भुटान फर्कन पाउने प्रतिक्षामा रहेको उनले बताए ।
त्यसका लागि भुटानी राजाले जेलमा रहेका सबै राजबन्दीलाई रिहा गर्नुपर्ने र सबै शरणार्थीलाई स्वदेश फर्किने वातावरण तयार पार्नुपर्ने पौडेलले माग गरेका छन् ।
‘हामीलाई नेपाल सरकारले गाँस, बास र कपासको व्यवस्था गरिदियो’, उनले भने, ‘तै पनि खुसी छैनौँ । हामी आफ्नै देश भुटान फर्किन चाहन्छौँ । भुटान जान नपाएसम्म हामी खुसी हुन सक्दैनौँ ।’
उनले भुटान सरकारसँग संवाद गरेर भूटानी शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउनका लागि सहयोग गरिदिन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।
नेपालमा रहेका शरणार्थीको परिचयपत्र नवीकरण गरिदिन र दर्तामा छुटेकाहरुको दर्ता गरिदिन उनले नेपाल सरकारलाई आग्रह गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानवधिकारकर्मी नेता टेकनाथ रिजाललाई भुटान पिपल्स पार्टीका नेता भनेर केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै पौडेलले आपत्ति जनाए ।
मानवअधिकारकर्मी रिजाल भुटान पिपल्स पार्टीको कुनै जिम्मेवारीमा नरहेको उनले बताए ।
रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा गल्ती गरेको हुन नसक्ने उनले बताए । तर, अदालतले रिजाललाई न्याय दिने कुरामा विश्वस्त रहेको उनको भनाइ छ । उनले भने–‘अदालतले उहाँलाई न्याय दिन्छ भन्ने आशा छ ।’