भारतीय सर्वोच्च अदालतले  मानहानि मुद्दा सफाइ दिँदै भारतको प्रतिपक्षी दल  काँग्रेसका नेता राहुल गान्धीको संसद्को सदस्यता पुनर्स्थापित गरिएको छ । 

चुनावी भाषणमा मोदी थर लाई लिएर दिएको अभिव्यक्तिका कारण मानहानिको मुद्दा झेल्दै आएका राहुल गान्धीको पक्षमा फैसला गर्दै अदालतले उनको निलम्बन गरेको संसद् सदस्यता पुनर्स्थापना गरेको छ । यो सँगै सत्तारूढ दल बिरूद्ध भएको  गठबन्धन दलका नेताहरूलाई भेट्न उनी संसद् भवन गएका छन् । 

लोकसभामा मोदी सरकार विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मंगलबारको छलफल  उनी सहभागी हुने बताइएको छ । 

 पार्टी महासचिव प्रियङ्का गान्धीले उनको लोकसभामा पुनरागमनको स्वागत गर्दै देशका जनताका वास्तविक मुद्दाहरूको आवाज फेरि एक पटक संसद्मा गुञ्जिने बताएकी छन्।

लोकसभामा राहुल गान्धीलाई पुनर्बहाली भएसँगै काँग्रेस मुख्यालयमा पूर्व पार्टी प्रमुखको समर्थनमा  उत्सव मनाइएको छ। राहुल गान्धीलाई लोकसभाको सदस्यतामा पुनर्बहालीपछि संसद् पुग्दा काँग्रेस र अन्य विपक्षी सांसदहरूले पनि  स्वागत गरेका छन्।

प्रियङ्का गान्धीले ट्वीटरमा राहुल गान्धीको संसद् पुगेको भिडियो पोस्ट गर्दै लेखेकी छिन्, 'जुनताका वास्तविक मुद्दाहरूको आवाज फेरि एक पटक संसदमा गुञ्जिनेछ । राहुल गान्धीसँग काँधमा काँध मिलाएर लडेका लाखौँ काँग्रेस कार्यकर्ता र न्याय र सत्यको लडाइँलाई समर्थन गर्ने करोडौँ देशवासीलाई हार्दिक धन्यवाद ।'

सर्वोच्च अदालतले मानहानिको मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गर्न रोक लगाएपछि लोकसभा सचिवालयले सोमबार एक अधिसूचना जारी गरी सांसदको रूपमा राहुल गान्धीलाई पुनर्स्थापित गरिएको हो ।