पाँचथर । कुम्मायक सरोकार समाज दक्षिण कोरियाले यासोक क्याम्पसलाई उपकरण सहयोग गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१ को यासोक क्याम्पसलाई सरोकार समाजले चार थान उपकरण सहयोग गरेको हो ।

सरोकार समाजका ३३ जना युवाहरूले सङ्कलन गरेको  १ लाख २८ हजार रकमबाट यासोक क्याम्पसलाई आवश्यक पर्ने एक–एक थान कम्प्युटर, प्रिन्टर, इन्भर्टर र इन्भर्टरमा लाग्ने ब्याट्री हस्तान्तरण गरेको छ । 

सामाजले उपलब्ध गराएको उपकरण क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच यासोक क्याम्पस सञ्चालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङलाई गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले  सामग्री हस्तान्तरण गरेका थिए । यासोक क्याम्पसको प्रशासनिक काम कारबाहीमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री तथा उपकरण सहयोग गरेको सरोकार समाजले जनाएको छ ।

गाउँपालिकाको एक मात्र क्याम्पसमा सूचना प्रविधिलाई जोड्दै शैक्षिक गुणस्तर वृद्धि र प्रशासनिक कामलाई चुस्त दुरुस्त बनाउन उपकरण सहयोग गरेको समाजका सचिव विजय लावतीले बताए । क्याम्पसमा हाल शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा पठन–पाठन हुँदै आएको छ ।

उपकरण हस्तान्तरण गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, वडाध्यक्ष तथा क्याम्पस सञ्चालन समिति उपाध्यक्ष देवेन्द्र कुमार लावती, समितिका अध्यक्ष जयबहादुर चेम्जोङ, क्याम्पस प्रमुख तिलकबहादुर खवास, सिद्ध मा.वि. तिङ्देनका प्र.अ नरेन्द्र सम्बाहाम्फेलगायत जनप्रतिनिधि, शिक्षक, पत्रकार र सारोकारवालाहरूको उपस्थिति रहेको थियो ।