सुनसरीको वराहक्षेत्रबाट सञ्चालित बराहक्षेत्र मिडिया प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय बुधबार उद्घाटन गरिएको छ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले केक काटेर वार्षिकोत्सवको समुद्घाटन गरेका छन् भने कार्यालयको समेत उद्घाटन गरेका छन् । 

वराहक्षेत्रका जनप्रतिनिधि, पत्रकारजन्य संघसंगठनका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल र स्थानीयको उपस्थितिमा वराहक्षेत्र ५ स्थित कालाबन्जार चोकमा कार्यालय उद्घाटनसँगै तेस्रो वार्षिकोत्सव समारोह आयोजना गरिएको प्रालिका अध्यक्ष प्रदीप जस्मैत चौधरीले जानकारी दिए ।

Barahakshetra Media Pvt Ltd_blastkhabar (3)

उत्सवका अवसरमा ग्रामीण क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई सञ्चालन गर्न चुनौती रहेको औंल्याइएको थियो ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन प्रणालीको अवधारणा अनुसार वृत्तिविकास गरिनु पर्ने बताए । उनले पहुँच र दलमा आबद्धता भएका हिसाबले नभएर लोकतन्त्रको एउटा सूचकका रुपमा रहेको सञ्चार क्षेत्रको विकास गर्ने नीति तीनै तहका सरकारले लिनुपर्ने बताए ।

वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले ग्रामीण क्षेत्रका पत्रकारले जनताको  हकअधिकारलाई सुसूचित गर्न र समाचार सम्प्रेषण गर्न अझै दुःख गरिरहनु परेको उल्लेख गरिन् ।  

पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले सन्तुलित समाचार सञ्चारमाध्यमले अख्तियार गर्नुपर्ने औंल्याए । ग्रामीण क्षेत्रमा संघर्ष गरिरहेका सञ्चार माध्यमको प्रवर्धनमा प्रयास गर्ने बताए । 

Barahakshetra Media Pvt Ltd_blastkhabar (2)

अक्षयकोषको घोषणा

मिडिया प्रालिले वार्षिकोत्सवको अवसरमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । 

ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्नेहरुको वृत्तिविकासका लागि अक्षयकोष स्थापना गर्न लागेको प्रालिका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्णकुमार श्रेष्ठ (अर्जुन) ले बताए । 

उनले  पत्रकारहरुको बिमा, लेखनवृत्ति र सम्मानका लागि अक्षयकोषबाट रकम खर्च गरिने  जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा अक्षयकोषमा स्थानीय दुई दाताले नगद २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।