नेकपा एकीकृत समाजवादीका नेता, प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूर्खाहरुको सम्मानमा किरात प्रदेशको दृष्टिकोण बनाएको बताएका छन् ।
उनले आफूले कुनै जातीय कुरा नगरेको बरु मान्छेहरुको बिउ जोगाउने पुर्खाहरुको सम्मानमा प्रदेशको नामकरणको धारणा बनाएको बताए । यो प्रदेशमा किरात पुर्खाहरुले आफू मरेर रगत, पसिना र जीवनको बलिदानी गरेर मान्छेहरुको बिउ जोगाएको बताए ।
जसरी इतिहासमा ठूलो योगदान गर्नेहरु सम्मानमा ‘मदन भण्डारी मार्ग’, ‘विश्वेश्वर कोइराला पार्क’ जस्ता नामहरु राखिएका छन् त्यसरी नै किरात पुर्खाहरुको बलिदानी रहेको बताए ।
सुनसरीको वराहक्षेत्रस्थित कालाबञ्जारमा वराहक्षेत्र मिडिया प्रालिको तेस्रो वार्षिकोत्सवका क्रममा विचार राख्दै पूर्व मुख्यमन्त्री राईले आफू अभियन्ता नभएर छलफलमा आइसकेको विषयमाथिको स्पष्ट दृष्टिकोण अनुसार किरात प्रदेश नामकरण हुनुपर्ने धारणा राखेको बताए ।
पूर्वमुख्यमन्त्री राईको विचारको अंश यहाँ प्रस्तुत गरिएको छ ।
एउटा खानेकुरा पत्ता लगाउनका लागि सुदूरपश्चिममा कति छेत्रीहरु मरे होलान् ? मध्ये वागमतीमा कति तामाङहरु मरे होलान, गण्डक प्रदेशमा कति गुरुङहरु मरे होलान्, अलिक परतिर गएपछि मगरहरु कति मरे होलान् ?
यो ठाउँमा किरातहरु एउटा खानेकुरा पत्ता लगाउनका लागि कति मरे होलान् ?
उनीहरुले आफू मरेर रगत, पसिना र जीवनको बलिदानी गरेर मान्छेहरुको खानेकुरा पत्ता लगाए । मान्छेहरुको लगाउने कुरा बनाउन सिके । घर बनाउन सिके औषधिमूलो सिके । अनि मान्छेको बिउ जोगाए । उनीहरुले त्यो बलिदान नगरेको भए यहाँ राजेन्द्र राई जन्मिएर बोल्ने थिएन । डाइनासोरजस्तै, कतिपय पशुपन्छी आज लोप भइरहेको छ, त्यसरी पुर्खाहरुले बलिदानी नगरेको भए आज न छेत्री बाहुन हुन्थे, न राई किरात हुन्थे । त्यसरी मान्छेको बिउ जोगाइएको छ । त्यसो हुँदा उनीहरुको सम्मानमा किरात प्रदेश राखिनुपर्छ ।
यो सातै प्रदेशमा किरात राखौं भनेको हो र ? जहाँजहाँ जजसले बलिदान गरे त्यहाँत्यहाँ उनीहरुको सम्मानमा नाम राखिदिऔं भनेर भनेको त हो नि कुरा ।
त्यसो हुँदा यो कुनै जातीय कुरा होइन । त्यो भनेको मान्छेहरुको सम्मानको कुरा हो । मदन भण्डारी मार्ग, विश्वेश्वर कोइराला पार्क आज अर्को के पार्क भनेर भन्दाखेरि त्यसरी नै इतिहासमा ठूलो योगदान गर्नेहरु सम्मानमा नाम राखिदिऔं न भन्ने कुरा न हो । कुनै ठूलो कुरा होइन । जंगलमा झुण्डझुण्ड हिंडेका सबै मान्छे बाँचे त ? जसले मान्छेको बिउ जोगाउन सकेन ती सबै मरे ।
यो देशमा आएका कति मान्छे मरे । ती सबै बाँचेका छैनन् । तर यो ठाउँमा, नेपालमा कुनै ठाउँमा गुरुङहरुले, कुनै ठाउँमा मगरहरुले, खसछेत्रीले, कुनै ठाउँमा किरातहरुले, लिम्बूहरुले बलिदान गरेर मान्छेलाई बचाउन सक्ने, आविष्कार गर्न सक्ने, सृष्टि गर्न सक्ने बनाएकाले हामी छौं आज । छासमिस भएर बसेका छौं । त्यसकारण उनीहरुको सम्मानमा प्रदेशको नामाकरण गरौं । यसमा तपाईंहरुले अन्यथा बुझ्न हुँदैन ।
म यसको अभियन्ता, यसमा लागिरहेको मानिस होइन । तर त्यो कुरा छलफलमा आइसकेपछि दृष्टिकोण राखेको हो । यस विषयमा अन्य थुप्रै कुराहरु गर्न सकिन्छ । यहाँ प्रसंगमा ल्याइदिनु भएकाले कुरा राखेको हुँ । मेरो यसखाले दृष्टिकोण बनेको छ । फेरि यहाँ कुरा नबुझी मप्रति नकारात्मक, सकारात्मक धारणा बनाइदिने, पूरा कुरा नसुनी त्यसैले मैले यत्ति स्पष्टीकरण दिन चाहेको हुँ ।