सङ्खुवासभा । सङ्खुवासभामा जिल्ला कारागार कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।
चोरी मुद्दामा सजाय भोगिरहेका नुवाकोट घर भई हाल खाँदबारी–९ का आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा जिल्ला मादी नगरपालिका–५ का बिनोद तोलांगीको बुधबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।
अर्ध चेत रहेका दुवै जनाको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिए लगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केही बेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयले राजनैतिक दल, पत्रकार लगायतलाई घटना बारे जानकारी गराएको हो ।
तर मृतकका आफन्तले प्रहरीबाट नै मारिएको आरोप लगाएका छन् । दोषी सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरूको भनाई छ ।
उक्त घटना अनुसन्धानका लागि ९ जना कैदीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए ।
हाल कारागार सुरक्षामा राखिएको प्रहरीहरू परिवर्तन गरिएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीले कारागारको हाल कडा निगरानी गरिरहेको जनाएको छ ।
घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिले १० दिनमा प्रतिवेदन बुझाउने छ ।