प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । 

आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन् । 

यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो ।

सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् ।

संघीय सरकारका २१ जना मन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।

सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु,  कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख छ ।