धरान उपमहानगरपालिकाले खानेपानी ट्यांकीमा ‘लिक्विड क्लोरिन’ हालेको दुई दिनपछि बस्तीमा खानेपानी परीक्षण सुरु गरेको छ ।
धरान नगर प्रमुख हर्कराज राईले फेसबुक स्टाटसमार्फत् खानेपानी परीक्षण गरेको तस्बिर राखेका छन् ।
यस अघि धरानको पानीमा दिसामा पाइने कोलिफर्मको मात्र ३५ पोइन्टसम्म देखा परेको थियो । सतहको पानीमा कोलिफर्म देखिनु सामान्य कुरा भएको धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताएका छन् । ‘कोलिफर्म पहिलेदेखि नै देखिएको हो, तर मात्रै के भयो भने कोलिफर्मको मात्रा अलिक बढी हुन गयो ।’ कार्यकारी निर्देशक पोख्रेलले भने ।
क्लोरिन निशानेस्थित खानेपानी ट्यांकीमा मंगलबार हालिएको थियो । २ लाख लिटरको पानी ट्यांकीमा १ केजी क्लोरिन हालिएको थियो । पानीकै कारण धरानमा डेंगी संक्रमण प्रकोपका रुपमा फैलिएको जनगुनासो आइरहेको थियो । तर नगर प्रमुख राईले यसको खण्डन गर्दै आएका छन् ।
तस्बिर नगर प्रमुख राईको फेसबुकबाट