नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन् । 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताए । 

उनले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो’, अध्यक्ष ओलीले भने ।

उनले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व–पश्चिम उत्तर–दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राखे ।

आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा समाजिक न्याय र समान अवसरलाई बिथोल्ने प्रयास गर्न नहुने बताए । 

जातीय द्वन्द्वका कारण धेरै देशले अस्तित्व गुमाएको भन्दै उनले विविधतामा समानता आवश्यक रहेको भनाइ राखे ।

‘असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ । विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन”, उनले भने, ‘सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।’

उनले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताए । ‘यहाँ एउटा धर्म र जातविशेषको राष्ट्र हुनु हँुदैन । यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘त्यसैले हामीले सातै प्रदेशको नाम भूगोल, नाला खोलाको नामका आधारमा राखेका हाँै ।’

एमालेले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उनले एमालेलाई जातका नामका कसैले विद्वेष फैलाउन खोजेको बताए । ‘कसैले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने त्यतिबेला देश जोगाउन सकिँदैन”, ओलीले भने । 

अध्यक्ष ओलीले सबै जातजातिका भाषा, संस्कृतिका मानिस सबै भूगोलमा बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले पहिचान भन्ने कुरा साम्प्रदायिक नभई आफ्नो थर, जात र भूगोलमा गर्व हुने भनाइ राखे ।