विराटनगर । काठमाडाैँ विश्वविद्यालयबाट विराटनगर–१४ मा सञ्चालित एस्पायर कलेजले उत्कृष्ट नतिजा ल्याएको छ ।
ब्याचलर इन टेक्निकल एजुकेशन आइटीमा अध्ययनरत विद्यार्थीहरूले ४ जिपिएसहित शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट सञ्चालित प्रथम वर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले यो सफलता प्राप्त गरेका हुन् । कलेजका पाँच जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
यसरी ४ जिपिए ल्याउने विद्यार्थीहरू तुसार गणेश, कृतिज्ञा कटवाल, सुशान्त नेपाल, दीक्षा राई र गौरव दाहाल रहेका छन् । ८ जना विद्यार्थीहरूले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाँकी विद्यार्थीहरूले ३.२४ भन्दामाथि जिपिए ल्याएर उत्तीर्ण भएको कलेजले जनाएको छ ।
यसरी उत्कृष्ट अङ्कसहित उत्तीर्ण तुसार गणेशले यो आफूहरूको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफूहरू सफल हुनसकेको बताए । त्यस्तै कृतिज्ञा कटवालले विद्यार्थीमैत्री सिकाइको वातावरण भएका कारण छोटो समयमै आफूहरूमा अध्ययनप्रति रुचि जागेको र कक्षाका सम्पूर्ण विद्यार्थीहरू उच्च जिपिएका साथ उत्तीर्ण हुन सफल भएको बताइन् ।
कलेजका को–अर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौँ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरूको सामूहिक तथा व्यक्तिगत मेहनतका कारण ठूलो सफलता हात लागेको बताए । सूचना प्रविधि विषयप्रति विद्यार्थीहरूको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनको भनाइ छ । कलेजका प्रधानाध्यापक चिन्तामणि बस्नेतले कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको बताए ।
विद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पूर्वाधारमा विशेष ध्यान दिइएको उनको भनाइ छ । काठमाडौँ विश्वविद्यालयबाट समय समयमा आउने प्राध्यापकहरूको गाइडेन्स पनि सफलताको कडीका रूपमा स्थापित भएर पहिलो वर्षमै उत्कृष्ट नतिजा दिन सफल भएको उनले बताए । परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनुले पनि विद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले बताए । यो प्रथम सेमेस्टरको परीक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो । बाँकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुनसमेत विद्यार्थीहरूलाई हौसला प्रदान गरिएको कलेजले जनाएको छ ।
काठमाडौँ विश्वविद्यालयको साझेदारीमा सञ्चालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइटीमा यस वर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि विद्यार्थीहरू भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।