धरानमा तीव्ररुपले डेंगी संक्रमण फैलिरहेको अवस्थामा 'जनस्वास्थ्यको आपतकालीन अवस्था' (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले तयारी गरेको छ ।
स्वास्थ्य कार्यालय, सुनसरीले जिल्ला विपद व्यवस्थापन समिति सुनसरीलाई अनुरोध गर्ने साउन १९ को निर्णयअनुसार प्रतिकार्य टोली ९आरटीआर० को बैठकबाट अनुरोध भएको साथै साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत निर्णय गरेकाले धरान उपमहानगरपालिकालाई डेङ्गी संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई 'जनस्वास्थ्यको आपतकालीन अवस्था' घोषणा गर्न गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
आज शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साउन १६ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको डेङ्गी नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमबाट भएको निर्णयसमेत बैठकमा जानकारी गराइएको छ ।
डेङ्गी रोगको संक्रमणले सुनसरी जिल्लाका १२ स्थानीय तहहहरुमा ८ हजार ४ सय ९२ जनामा सङ्क्रमण देखिएको र ९ जनाको मृत्यु भएको तथ्यांक छ । धरान उपमहानगरपालिकाका २० वटै वडामामात्रै ७ हजार १ सय ६८ जनामा संक्रमण र ९ जनाको मृत्यु भइसकेको छ ।