नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन् । 

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सातआठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका छन् । 

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाका बारेमा र बैठकका कार्यसूची बारेमा ब्रिफिङ गरेको सांसद डिल्लीराज पन्तले जानकारी दिए । 

बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राखेका थिए । 

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेंगी रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महँगी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेको उनले बताए । 

शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गरेका र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्काे बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।