धरानमा पहिलो पटक विद्यालय तहमा धरान–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालयले ‘कम्प्युटर इन्जिनियरिङ’ को पढाइ सुरु गरेको छ । दरबन्दीमा २ जना कम्प्युटर इन्जिनियर राखेर विद्यालयले पहिलो वर्षको अध्ययन– अध्यापन सुरु गर्दैछ । विद्यालयले एकातिर नयाँ विधाको शिक्षा ल्याइरहेको छ अर्कातिर कक्षा १० बाट विद्यार्थीहरु विद्यालय छाडेर जानको उल्लेखीय संख्या छ । विद्यालय धरानकै उत्कृष्ट व्यवस्थापन र पूर्वाधारयुक्त छ । यद्यपि विद्यालयले विद्यार्थीलाई कक्षा १२ सम्मै राख्न सकेको छैन । यसै वर्ष एसईई परीक्षा दिएका २९ जना विद्यार्थी अन्यत्र अध्ययनका लागि गए । विद्यालयले व्यवस्थापन (म्यानेजमेन्ट) विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ भने अहिले कम्प्युटर विषय थप गरेको छ । यद्यपि विद्यार्थीहरु विद्यालयमा अडिन नसक्नुको ठोस कारण पत्तो लाग्न सकेको छैन । यसै प्रसंगमा विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले चिन्ता प्रकट गरेका छन् । उनीसँग गरिएको कुराकानीमा आधारित सामग्री प्रस्तुत गरिएको छ ।
***
यो विद्यालयले यसै वर्षबाट प्राविधिक धारतर्फको कार्यक्रम कक्षा ९–१२ मा कम्प्युटर इन्जिनियरिङ विषय सुरु गरेको छ । यो पहिलो ब्याज हो । अहिले ४८ जना विद्यार्थीको कोटा छ । र, एड्मिसन अहिले पनि जारी छ । हाल २४ जना विद्यार्थीले एडमिसन गरेका छन् । हामी अझै केही समय ४८ जनाको कोटा पुर्याउनका लागि तत्पर छौं । कक्षा ८ पास गरेका विद्यार्थीको सम्पर्कमा गएका छौं । र, आह्वान पनि गर्दछौं ।
कम्प्युटर इन्जिनियरिङ विषयका लागि हामीसँग पूर्वाधार पर्याप्त छन् । शिक्षा विभागबाट हामीलाई स्वीकृति प्राप्त छ ।
कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ
कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा मानव स्रोत विकास केन्द्रबाट अनुमतिबाट प्राप्त हो । प्राविधिक धारको अनुमति एउटा सिटिईभिटी र अर्को शिक्षा विभागबाट प्राप्त हुन्छ । हामीले शिक्षा विभागबाट अनुमति प्राप्त गरेका छौं । यो प्राइभेटभन्दा धेरै सस्तो पर्छ । यसमा ‘गभर्नमेन्ट’ले ‘इयरली’ दुईदुई वटा दरबन्दी ‘एड’ गर्दै जान्छ । ‘ल्याब’ व्यवस्थापनका लागि सहयोग आउँछ । हामी विद्यालय सञ्चालनका लागि न्युनत्तम ‘फी’ लिएर अध्यापन अगाडि बढाउँछौं ।
कम्प्युटर इन्जिनियरिङ विषय यहाँ ९ कक्षादेखि १२ कक्षासम्म चार वर्ष पढ्नुपर्छ । बाहिर प्राइभेटमा जाने हो भने कम्तिमा ३ लाख रुपैयाँ भन्दा बढी लाग्छ । हामी चार वर्षको अवधिमा बढीमा एक लाख रुपैयाँमा अध्यापन गराउँछौं । त्यो पनि खण्डखण्डमा गरेर ।
अहिले हामीले ‘न्यु एड्मिसन’लाई ‘एड्मिसन फी’ १ हजार र वार्षिक विद्यालय सञ्चालन सहयोग भनेर सबै ‘इन्क्ल्युड’ हुने गरी परीक्षा, ‘रजिस्ट्रेसन’ गरी १५ हजार लिएका छौं । कक्षा १० मा पनि त्यसैअनुसार हुन्छ । ४ वर्षमा एक लाखको हाराहारीमा ओभरसियर बराबरको प्राविधिक जनशक्ति तयार हुन्छ ।
अतिरिक्त कक्षाको सुविधा
यो विषयलाई जोडेर अरु विधाका पनि खासगरी कक्षा ११ मा म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई थप अतिरिक्त शिक्षा पनि दिन चाहिरहेका छौं ।
बिहान कक्षा ११–१२ पढाइ हुन्छ । दिउँसो विद्यालय समय, ४ बजेपछि कम्प्युटर ‘ल्याब’मा प्रयोगात्मक शिक्षा समेत दिन चाहिरहेका छौं । हामीसँग दुई जना कम्प्युटर शिक्षासम्बन्धि विज्ञ, कम्प्युटर इन्जिनियरहरु हुनुहुन्छ । उहाँहरु दरबन्दीमा नियुक्त भइसक्नु भएको छ ।
धरानका ‘प्राइभेट इन्स्टिच्युट’हरुमा कम्प्युटरको ‘बेसिक कोर्स’ सिक्न विद्यार्थीहरु जाँदै गरेको मैले बुझेको छु । यो साधनस्रोत र त्यो म्यानपावरलाई प्रयोग गरेर हाम्रा विद्यार्थीहरुलाई ‘अफ टाइम’ मा हामी आफैं त्यो शिक्षा दिन तत्पर छौं । यो विद्यालयमा ‘एड्मिसन’ गर्ने विद्यार्थीका लागि चाहिं उनीहरुलाई बाहिर नजान अनुरोधसमेत गर्छु । ‘एक्स्ट्रा टाइम’मा सरहरुले खटेको ‘मिनिमम’ सुविधावापत् दिएपछि त्यो कम्प्युटर ‘क्लास’ पनि ‘रन’ हुन्छ । किनभने हामीसँगै ती ‘इन्फास्ट्रक्चर’हरु पर्याप्त छन् । विद्यार्थीलाई बजारभन्दा सस्तो विश्वसनीय अतिरिक्त कार्यक्रम पनि हामीले अगाडि बढाउन चाहेका छौं । यसलाई विधिवत् निर्णय गर्ने प्रक्रियामा छौं । हामी अभिभावक, विद्यार्थीलाई भन्न चाहान्छौं– ‘आउनुहोस् तपाईंहरु सहिद स्मृति माविमा म्यानेजमेन्ट पढ्न चाहानुहुन्छ भने थप यो कार्यक्रम पनि विद्यार्थीका लागि जोडिरहेका छौं ।’
आफ्नै उत्पादन ‘होल्ड’ गर्न समस्या
सहिद स्मृति माविमा समग्रमा विद्यार्थी संख्या घटेको होइन । ‘नर्सरी टु टेन’मा हामीसँग ‘प्रोग्रेसिभ अर्डर’मा छन् विद्यार्थीहरु । तर हाम्रा यहीँका उत्पादित विद्यार्थीहरु किन बाहिर गइरहेका छन् भन्ने हामी खोजीमा छौं । उनीहरु होटल म्यानेजमेन्ट पढ्न गए । एजुकेशनबाट कुनै मेजर विषय पढ्न गए त्यसमा हामीले अनुमति दिनै पर्छ ।
तर यहाँ पनि हामी ‘म्यानेजमेन्ट’ अत्यन्तै राम्रो व्यवस्थापनका साथ अध्यापन गराइरहेका छौं । हामी दावा पनि गर्छौं । हामी पूर्वाधार व्यवस्थापन, शैक्षिक वातावरणका लागि (हामीले भन्न मिल्छ कि मिल्दैन) १ नम्बरमै छौं । अब्बल छौं । त्यति हुँदाहुँदै पनि यहीं पढाइ हुने विषयका लागि विद्यार्थी बाहिर गइरहेका छन् ।
यहाँबाहेक अन्य ठाउँमा पनि अन्य कुनै प्रणाली छैन । करिबकरिब ‘टिचिङ’ गर्ने ‘म्यानपावर’ पनि धरानमा उस्तै हुनुहुन्छ । फरक व्यवस्थापन नहुँदानहुँदै पनि, शुल्क पनि अत्यन्त ‘हाइ’ भएका र एउटा भीडमा विद्यार्थीहरु पछि गइरहेका छन् ।
हामीले अपेक्षा गरेअनुसार, कम्तीमा ३०–४० जना त हाम्रै विद्यार्थी थिए । त्यसमा ५–७ जना फरक विषय पढ्ने भए । अरु बाँकीले ‘म्यानेजमेन्ट’ नै पढ्ने हुँदा क्लास सुहाउने हुन्थ्यो भन्ने हाम्रो ‘होप’ थियो । तर त्यो अनुसार भएन ।
अलिकति विलम्ब भएको छ । विल्कुलै विद्यार्थी नभएका पनि होइनन् । अहिले विद्यार्थीले एड्मिसन गरिरहेका छन् । अध्यापन सुरु भएको छ । आज र भोलि ग्रेडवृद्धिको परीक्षा चलिरहेको छ । यसको रिजल्टपछि १५–२० विद्यार्थी आउने पनि हामीले सूचना पाएका छौं ।
हामीले विद्यालयको व्यवस्थापन गर्न सकिएन र विद्यालयको शैक्षिक वातावरण व्यवस्थापन गर्न कमि रहेको भए चाहिं हामीले पनि त्यसलाई ‘मम’ गर्ने हो । तर सहिद स्मृति माविको त्यो पाटोमा चाहिं कहाँ कमि रह्यो र ? हामी त चुकेकै छैनौं । यो भन्दा अब्बल व्यवस्थापनमा विद्यार्थी गए भने चाहिं हामीले पनि महसुस गर्नुपर्ने हुन्थ्यो । ठीक छ हामीले सकेनौं कि ? भन्ने हुन्थ्यो ।
तर मलाई के लाग्छ भने, अरुको व्यवस्थापनलाई आलोचना नगरौं । हाम्रो कुरा गर्ने हो भने कमि त केही पनि छैन । शैक्षिक वातावरणमा, व्यवस्थापनमा, क्यान्टिन, अतिरिक्त क्रियाकलाप, शैक्षिक सामग्री, ‘ल्याब’, ‘स्मार्ट क्लास’ हेर्ने हो भने त हामी धरानमै अब्बल छौं ।
तर यसलाई छाडेर जानुका पछाडि चाहिं के हो भन्ने कुराको वास्तवमा हामी पनि अध्ययन नै गरिरहेका छौं ।
हामीले ‘एजुकेशन’, ‘साइन्स’ राख्न सकेका छैनौं । ‘होटल म्यानेजमेन्ट’ राखेका छैनौं । तर ‘म्यानेजमेन्ट’ विषय नै पढ्न विद्यार्थी अन्यत्र जान्छन् । किन यहाँ पढ्न मानेनन् ? भन्ने कुरा हाम्रो चिन्ताको विषय हो ।
यहाँका शिक्षकले अन्यत्र विद्यालयमा जाउ त पक्कै पनि भन्नु भएन होला । त्यो भन्नु भएको हो भने त गम्भीर गल्ती नै हुन्छ । र, म विश्वास गर्दिनँ कि हाम्रा यहीँका सरहरुले नै अन्यत्र विद्यालयमा विद्यार्थी पठाउनुहुन्छ । उहाँहरुले जाऊ पक्कै भन्नु भएको छैन । भन्नु भएको हो, त्यस्तो तथ्य प्रमाण भयो भने उहाँलाई त्यो अधिकार हुँदैन । म विश्वस्त छु शिक्षकहरुले त्यसरी भन्नु भएको छैन ।
व्यवस्थापनका सवालमा हामी भन्दा अब्बल केही निजी विद्यालयहरु हुन सक्लान यद्यपि धरानमा हामी व्यवस्थापनमा अब्बल छौं । शैक्षिक वातावरण त्यस्तै छ । टेक्निकल सुविधा, शौचालय, लाइब्रेरी, इलाइब्रेरी सबैको सुविधा छ ।
तर विद्यार्थीहरुले एक प्रकारको ‘फ्रिडम’ चाहेको हो कि? यहाँ जिरोदेखि टेनसम्म पढ्यो । सानैदेखि हामीसँग विद्यार्थी भएकाले हामी अलिक बढी केयर पनि गर्छौं । स्वभाविक पनि हो । तर यहाँबाट अर्कोतिर जानेबित्तिकै विद्यार्थीहरु सरहरुको नजरमा पर्दैन । सम्भव पनि छैन । जस्तै पब्लिक, सदन, निकेतनको कुरा गर्नुस् । पाँचसय, ६ सय विद्यार्थी जुन फरक विद्यालयबाट गएको छ भने शिक्षकले पनि चिन्दैन । विद्यार्थीले एउटा ‘फ्रिडम’ पनि चाहन्छ कि ? यसलाई मिडियामै भन्न पनि त्यति सान्दर्भिक नहोला तर १० वर्षसम्म यही विद्यालयमा पढियो । कति यही विद्यालयमा पढ्ने ? फरक विद्यालयमा पढ्दा ‘फ्रिडम’ होला कि ? भन्ने पनि होला ।
विद्यार्थीले आफ्नो अभिभावकको अवस्था कस्तो छ भन्ने मूल्यांकन पनि नगर्दो रहेछ । अब यहाँ घर विद्यालयको कम्पाउण्डमा जोडिएको छ । फरक विद्यालयमा जाँदा त सरर बस चढ्न पाइयो । बजारबाट बस चढेर जान पाइने पनि रहर होला । यहाँ त हामीले गाडी नै राखे पनि वा राख्न पनि सम्भव छैन । राखे पनि टाढाका लागि राख्नुपर्ने हुन्छ । हाम्रो मूल्यांकन चाहिं विद्यार्थीले खोज्ने ‘फ्रिडम’ नै होला ।