सानो गाँठीका चित्रकार थिए उनी अर्थात् सुरेन्द्र प्रधान । मृत्युले कसैलाई पनि छोड्दैन । उनलाई पनि छोडेन । केही वर्षअघि उनको क्यान्सर रोगको कारणले असामयिक निधन भएको थियो । नेपाली कलाक्षेत्रका कलाकारलाई प्रायः क्यान्सरको रोगले नै चुँडेर लगेको देखिन्छ । मैले देख्दादेख्दै थुप्रै होनहार कलाकार क्यान्सरले बितिसके । भर्खरै केही समयअधि डाक्टर रामकुमार भौकाजी यही रोगले बिते । केही वर्षअघि धरानका स्वयम्प्रकाश श्रेष्ठको जीवन पनि यही रोगले चुँड्यो । उनीभन्दा अघि शान्तकुमार राई, पुरन खड्कालगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीला क्यान्सर रोगले समाप्त पारिसकेको छ । खोज्दै जाने हो भने अरु पनि धेरै कलाकारहरु छन्, चाँडै बित्ने । तर, अहिलेलाई कलाकार सुरेन्द्र प्रधानको सम्झनालाई यहाँ ताजा बनाउने जमर्को कसेको छु र समवेदना स्वरुप केही शब्द अर्पित गरेको छु ।
कलाकार प्रधान मेरा धेरै नजिकका होनहार एक मित्र हुन् । मृत्युको मुखमा पुग्नु पूर्व जब उनको परीक्षण गर्ने डाक्टरले उनमा लागेको रोग खुट्याइदिएका थिए, त्यतिबेला नै फोनमार्फत् उनले आफ्नो स्वास्थ्यस्थिति मलाई बताएका थिए । म उनलाई बारम्बार सान्त्वना त दिन्थेँ तर, मेरो सान्त्वनाले मात्र केही चल्दैनथ्यो । अन्ततः लामो समयसम्म हस्पिटलमा थलिएर उनको असामयिक निधन भयो । आज तिनै कलाकारको कलाकर्मको सम्झना गर्दै यो पङ्क्ति प्रस्तुत गरेको छु । स्वर्गीय प्रधानलाई हाम्रो नेपाली कलाक्षेत्रले नेपालका पाब्लो पिकासो भनेर सम्बोधन गथ्र्यो । दुई दशकसम्म घनवादलाई आत्मसात गर्दै कला सृजना गर्ने उनी नेपालका एक मात्र पिकासो प्रभावित अधवैँशे कलाकार थिए । उनको पुराना र नयाँ घनवादी चित्रको पछिल्लो प्रदर्शनी केही वर्षअघि राजधानीको पार्क ग्यालरीमा भएको थियो । त्यो प्रदर्शनीमा २२ वटा चित्रहरु राखिएका थिए । उबेला प्रदर्शित चित्र सरसर्ती हेर्दा मेरा आँखा लोकतन्त्र शीर्षकको चित्रमा पुगेर टक्क अडियो । त्यो चित्र पिकासोको ‘गोर्निका’ चित्र शैलीको प्रभावमा बनेको थियो भने विषय भावना र संरचना चाहिँ स्पेनिस कलाकार फ्रान्सिस्को दे गोयाको ‘तेस्रो मे’ चित्रसँग मिल्दोजुल्दो थियो ।
पिकासोको ‘गोर्निका’ चित्र प्रथम र दोस्रो विश्वयुद्धले जन्माएको दारूणता र मानवीय क्षतिमाथि बनेको चित्र हो र ‘तेस्रो मे’ शीर्षकको चित्र नेपोलियनले स्पेन हात पारेपछि नेपोलियनका सैनिकले निरीह स्पेनीमाथि बन्दुकको नालले मच्चाएको नरसंहारको प्रतिबिम्बमुखी चित्र हो । तत्कालीन समाजको निरीह हविगतमाथि बलियाहरुको हैकम र साम्राज्यवादी मत्तापनको नशाले ती विगतका चित्रहरु जन्मिएजस्तै प्रधानको लोकतन्त्र शीर्षक चित्रलाई शाहकालीन दमनले जन्माएको थियो । प्रधानको त्योबेलाको प्रदर्शनीमा राखिएका चित्रहरुमा निरङ्कुशताले कुल्चिएका स्वतन्त्रकामी जनताको आन्दोलित बिम्बहरु कोरिएका थिए ।
प्रधानले घनवादी शैलीका विविध विषयवस्तुलाई थुप्रै क्यानभासमा सजाएका छन् । स्वदेश विदेशमा १० औँ पल्ट एकल र सयौँपल्ट सामूहिक प्रदर्शनी गरेका कला प्राध्यापक प्रधान घनवादमा बढेको मोहको बारेमा यसरी भन्छन्, ‘जब म मुम्बईको सर जे. जे. स्कुल अफ फाइन आर्टबाट सन् १९८९ मा डिप्लोमा अध्ययन सकी नेपाल फर्किएँ; त्यही समयदेखि पिकासोले मोहित पारेको हो मलाई । ममा अन्तर्निहीत विचारको पोको यही वादले मात्र खुस्काउन सक्छ भन्ने लागेर यसको पछि लागेको हुँ ।’
घनवाद लरतरोको वाद होइन । यसलाई प्रत्येक क्षेत्रले आत्मसात गरेको पाइन्छ । चित्र, मूर्ति, वास्तु, काष्ठलगायत साहित्यिक विधामा पनि यो सिद्धान्त प्रायोगिक बनेको पाइन्छ । साहित्यकार वैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वरवल्लभद्वारा दार्जिलिङबाट थालिएको आयामेली साहित्यिक उठानमा आधुनिक कलाको दर्शनलगायत घनवाद नै विशेष प्रभाव मार्गको रूपमा अख्तियार भएको छ । यो साहित्यमा पिकासोको ज्यामितीय सिद्धान्तले आग्रह गरेका विचार र दर्शन प्रशस्तै विचरण भएका पाइन्छन् । आयामेली दर्शनले जीवनको टुक्रा अलग–अलग वर्णन गरेर पुग्दैन । सिङ्गो रुपमा वर्णन गर्नुपर्छ र वस्तुमाथिको परम्परागत हेराइले भन्दा तेस्रो नेत्रको आयामिक दृष्टिले सबै साँचो देख्छ भनेको पाइन्छ । यस्तै दर्शन र मान्यताको ठूलो रुप नै हो पिकासोको घनवादी सिद्धान्त ।
दिदीको मृत्युवरणको पीडा सहन नसकी ईश्वर दानव हो र मान्छेको शत्रु पनि हो भन्दै ईश्वरीय विधानलाई नकार्दै ईश्वरमाथि बिषवमन गर्ने पिकासोले फ्रान्सबाट सहकर्मी कलाकार जर्ज ब्राकसँग मिलेर घनवाद आन्दोलन चर्काएका हुन् । घनवादी विचार सन् १९०७ देखि उठेको भए पनि समाजमा यसको प्रभाव १९०८ पछि मात्रै पर्दै गएको हो । घनवादले वस्तुको लम्बाइ, चौडाइ र उचाइमा विश्वास गर्छ र वस्तुको गहिराइ यसको वैशिष्ट्यता हो । कलामा घनवादी शैलीअनुरुप अभिव्यक्ति पस्किँदा वस्तुको रचना एकपछि अर्कोमा ‘ओभरल्याप’ गरिँदै सग्लो ‘फम’ प्रस्तुत गरिन्छ ।
वस्तु प्रकृति वा मानव जेसुकैको बनोट त्रिकोणात्मक ज्यामितीय ढङ्गमा व्यक्त हुने तथा कुरुपतामा सुन्दरता खोजिने नवदृष्टिकोणवादी चरित्र यो कलाको पहिचान हो । सन् १८८१ मा स्पेनमा जन्मी विश्वकला संसारमा नाम, दाम र काममा सफलता कमाएका कम्युनिष्ट समर्थक पिकासोले घनवादको गुदीको सन्दर्भमा भनेका छन्, ‘घनवादी चित्र भनेको थपक्कै हातमा लिएर हेर्ने वस्तु होइन, यो एक अत्तर जस्तो हो, जसबाट सुगन्ध तिम्रो अगाडि, पछाडि, दायाँ, बायाँ चारैतिरबाट आइरहेको हुन्छ ।’ घनवादबारे नेपालका कला समीक्षकहरु भन्छन्, ‘यो वादअन्तर्गतका चित्रमा रङ ‘ओपेक’ हुन्छ । रेखामा गतिमय र सशक्त हुन्छन् ।’ समीक्षकहरुले भनेजस्तै प्रधानका प्रत्येक क्यानभासमा ‘ओपेक’ वा पारदर्शी रङ र रेखाको बेजोड मिलान देखिएका थिए । सशक्त कोणिक रेखामा बनेको विषयवस्तु हृदयस्पर्शी थिए । लोकतन्त्र चित्र त झनै राम्रो बनेको थियो ।
(लेखकः कलाकार एवम् कला समीक्षक हुन्)