धरानमा खानेपानीको अभाव हो ? खानेपानीको अभाव वा वितरण प्रणालीमा समस्या हो ? मतान्तर कायमै छ । हर्कराज राई धरानको नगर प्रमुख निर्वाचित भएपछि आधादर्जन बर्खे स्रोतबाट पानीको जोहो गरे । यद्यपि खानेपानीको अभाव परिपूर्ति हुन सकेको छैन । पानीकै अभाव वा स्रोतको समुचित प्रयोग हुन नसक्नु अथवा ट्यांकीलगायतका भौतिक निर्माणको अभाव हुनु यी यावत् प्रश्नमा मतान्तर रहेकै छ । तर धरानको वडा नं. ५ देवीगाउँ खानेपानी वितरणमा यी मतान्तरबाट टाढा छ ।
स्थानीय मारखोला, बोक्सी खोला, सेरा खोला र सिस्ने खोलाको मुहानबाट पानी ल्याएर देवीगाँउमा ५ सय ९ घरले खानेपानी उपभोग गरिरहेका छन् । देवीगाउँका खानेपानीका चार वटा मुहान मध्ये नजिकको खानेपानी मुहान सिस्नेखोला मुहान हो ।
देवीगाउँमा वितरण हुने पानी बर्खाको समयमा दैनिक ४ घण्टा र हिउँदमा दैनिक १ घण्टा यही मुहानबाट परिपूर्ति गरिरहेका छन् ।
हालसम्म धरान खानेपानी बोर्डको पानी यो वडामा वितरण भएको छैन । देवीगाउँ खानेपानीमा स्वावलम्बी छ ।
शनिबार देवीगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा देवीगाँउ सिरानमा रहेको सिस्नेखोला मुहान सरसफाइ गरिएको छ । साथै सो स्थानमा वृक्षरोपणसमेत गरिएको छ ।
वृक्षरोपणमा स्थानीय १ सय जना उपस्थित रहे । पानीको मुहान वरपर फलफूल लगायतका बिरुवा रोपिए ।
पत्रङबारी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर आचार्य, सहसचिव चन्द्र कुलुङ, राइजिङ इङ्लिस स्कुलका डाइरेक्टर सुवास लिम्बू शिक्षक विद्यार्थीहरु, ज्योति युवा समूह, ज्योति बालसमूह, देवीगाउँ आमा समूह, वडा सदस्य सुनिता राई, विजय राई र स्थानीय उपभोक्ताहरु वृक्षरोपणमा सहभागी भए ।
‘पानीको मुहान संरक्षण गर्नु बिरुवा रोप्नु सह्रानीय काम हो । रोपेको बिरुवालाई हुर्काउनु पनि उपभोक्ताहरुको कर्तव्य हो ।’ पत्रङबारी सामुदायिक वनका सहसचिव चन्द्र कुलुङले भने ।
वृक्षरोपण कार्यक्रममा सहभागी ५ नम्बर वडाका वडाध्यक्ष मनप्रसाद लिम्बूले निराजन बस्तीदेखि हर्दिया हुँदै कन्यापोखरी जाने सडक निर्माणका कारण पहिरो आउने भएकाले यहाँको पानीको मुहान बगाउने र पुर्ने भएकाले पानीको मुहान संरक्षण गर्न समस्या भएको बताए ।
पहिरो नियन्त्रणको लागि वडाबाट रकम अभावमा विनियोजन गर्न नसकेको बताए ।
देवीगाउँ खानेपानी उपभोक्ता समितिका सल्लाहकार दुर्गादास कुलुङले स्थानीय सरकारले स्थानीय स्तरमा रहेको खानेपानीको मुहानलाई संरक्षण गर्नुका साथै योजना बनाउनु पर्ने माग राखे ।
उपभोक्ता समितिका सचिव ध्रुव गिरीले ४ वटा खानेपानीको मुहानमध्ये सबै भन्दा नजिकको मुहान सिस्ने खोलाको आज सरसफाई गर्दै वृक्षरोपण गरेको बताए ।
मुहानमा खानेपानी डिभिजन कार्यालय इटहरीबाट ट्याङकी निर्माण भएको छ । डिभिजन कार्यालयले नै पाइप प्रदान गरेको हो । तर स्थानीय सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन ।
मुहान क्षेत्र खहरे भएकाले बर्सेनि पहिरो आउने र पाइप बगाउने भइरहेको छ । यहाँको प्रमुख समस्या पहिरो नियन्त्रण गर्नु नै रहेको पत्रङबारी सामुदायिक वनका सहसचिव कुलुङ बताउँछन् ।
‘हरेक चुनावको बेला धरानमा खानेपानीको मुद्दा उठ्ने र हराउने गरेको छ । उपभोक्ता आफैंले विभिन्न मुहानबाट पानी ल्याएर उपभोग गरिरहेका छौं तर स्थानीय सरकारको प्राथमिकतामा नपर्नु दुःखको कुरा हो ।’ कुलुङ भन्छन् ।