विजयपुर । किरात खम्बुवान साझा पार्टीमा २३ जना प्रवेश गरेका छन् । शनिबार धरान–१५ स्थित आठराई होटलमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष भूपी कोयी राईले २३ जनालाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष गमबहादुर राईका अनुसार विभिन्न पार्टी परित्याग गरी किरात खम्बुवानमा प्रवेश गरेका हुन् । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष देवीबहादुर राई, कोषाध्यक्ष श्रीकुमार राई, केन्द्रीय सदस्य फत्तबहादुर खड्कालगायतको उपस्थिति रहेको पार्टीका केन्द्रीय महासचिव रमेशकुमार राईले जानकारी दिए । केन्द्रीय उपाध्यक्ष देवीबहादुर राईले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
केन्द्रीय अध्यक्ष कोयीले पार्टीको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी प्रवेशले पार्टीको मुद्दाप्रति थप ऊर्जा मिलेको बताए । उनले किरात, खम्बुवान, लिम्बुवान, शेर्पालुङ र कोचबारे राजनीतिक प्रशिक्षण दिएका थिए । कोयीले वर्तमान समग्र मुलुकको विकासीय राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै कोशी प्रदेश केन्द्रित पार्टीको अवधारणा विषयमा प्रशिक्षण दिएका थिए ।