सुनसरी । कोसी गाउँपालिका वडानम्बर ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा राजनीतिक दलको पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ ।

विद्यालयमा राजनीतिक गतिविधि गर्न नपाइने व्यवस्था रहे पनि शनिबार नेकपा (एमाले)ले विद्यालयमै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको हो । विद्यालय हाताभित्र नेकपा (एमाले)ले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेपछि नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएका छन् । ‘शिक्षा आर्जन गर्नका लागि विद्यालय स्थापना गरिएको हुन्छ’ नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य एवम् अधिवक्ता पञ्चनारायण मण्डलले भने, ‘नेकपा (एमाले) ले मात्रै होइन, अन्य कुनै पनि पार्टीले सार्वजनिकस्थल वा विद्यालयमा यस्ता गतिविधि गर्नु सरासर गलत हो ।’

विद्यालयलाई शान्ति क्षेत्रको रूपमा स्थापना गरिएकाले त्यसलाई कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा पूर्व प्रदेश मन्त्रीसमेत भइसकेका जगदीशप्रसाद कुशियैतकै उपस्थितिमा यस्तो गतिविधि विद्यालयमा हुनु गम्भीर आपत्तिको विषय भएको नेपाली काङ्ग्रेस कोसी गाउँपालिकाले जनाएको छ । ‘विद्यालयलाई पार्टी कार्यालय सरह बनाएर पार्टी प्रवेश कार्यक्रम गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ’ नेपाली काङ्ग्रेस कोसी सभापति सुलेमान मन्सुरीले भने, ‘झन् स्वयम् नेकपा केन्द्रीय कमिटी सदस्य एवम् पूर्व प्रदेश मन्त्रीकै उपस्थितिमा यस्तो भएको पाइयो, जुन भत्र्सनायोग्य कुरा हो ।’ पछिल्लो समय राजनीतिक दलले विद्यालयको हाताभित्र कुनै पनि राजनीतिक गतिविधि तथा कार्यक्रम गर्न नपाइने भए पनि नेकपा (एमाले)ले कोसी गाउँपालिका वडानम्बर ६ मा त्यसको उल्लङ्घन गरेको नेपाली काङ्ग्रेस कोसी गाउँपालिकाले जनाएको छ ।

खड्का पुनः एमालेमा
यसैबीच कोसी गाउँपालिका वडानम्बर ६ स्थित राष्ट्रिय मावि श्रीपुरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममार्फत् स्थानीय चुनावमा नेकपा (एमाले) पार्टीबाट टिकट नपाएपछि नेपाली काङ्ग्रेसबाट कोसी गाउँपालिका वडानम्बर ६ मा वडाध्यक्षका उम्मेदवार बनेका जयशङ्कर खड्का पुनः एमालेमा प्रवेश गरेका छन् । २०७९ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले टिकट नदिएपछि काङ्ग्रेस पार्टीको टिकटबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी जनता समाजवादी पार्टीका जुडिलाल कडौगयासँग पराजित भएका थिए ।

यस्तै सोही कार्यक्रममा नेकपा (माओवादी  केन्द्र)का जिल्ला सदस्य तथा कोसी गाउँपालिका इन्चार्ज मण्टु यादव, देवनारायण मुखियासहित एक दर्जन बढी नेकपा (एमाले)मा प्रवेश गरेको जनाइएको छ । उनीहरूलाई नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवम् पूर्व सुनसरी इन्चार्ज जगदीशप्रसाद कुशियैत, नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदी, जिल्ला सदस्य अनिता उराँव, जितेन्द्र खेरवारसहितले पार्टी प्रवेश गराएका थिए । यता नेपाली काङ्ग्रेसले भने स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका खड्का गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै कारबाही  प्रक्रिया अगाडि बढाइएपछि पुनः एमाले प्रवेश गरेको दाबी गरेको छ । यता विद्यालयमा नेकपा (एमाले) ले गरेको पार्टी प्रवेश कार्यक्रमबारे प्रतिक्रिया लिन राष्ट्रिय मावि श्रीपुरका प्रधानाध्यापक जयप्रकाश यादवलाई पटक–पटक फोन सम्पर्क गरे पनि उनको फोन उठेन ।