विजयपुर । बजारमा टमाटरको मूल्य अत्यधिक वृद्धि भएको छ । केही हप्ता अघिसम्म २० देखि ४० रुपैयाँसम्म खरिद भएको टमाटर पछिल्लो समय २ सय रुपैयाँ प्रतिकिलोसम्म खरिद बिक्री भएको छ ।

बजारमा अत्यधिक मात्रामा मूल्य वृद्धि भए पनि बजार अनुगमन गर्ने नियामक निकाय भने उदासीन देखिन्छन् । नियमनको अख्तियारी प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय, नगरपालिकालगायतलाई भने के कारणले मूल्य वृद्धि भइरहेको छ भन्ने समेत जानकारी छैन । धरान बजारमा पछिल्लो समय प्रतिकिलो २ सयसम्ममा टमाटरको कारोबार हुने गरेको छ । बजारमा १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । कृषिउपज बजार धरानका अनुसार शनिबार भने प्रतिकिलो ९५ रुपैयाँदेखि १ सय १० रुपैयाँसम्म कारोबार भएको छ ।

कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘बजारमा १ सय ३० रुपैयाँसम्म कारोबार हुनुपर्ने हो ।त्यहाँभन्दा बढीमा बिक्री गरेमा कालोबजारी हुन्छ ।’ उनले बजारमा टमाटरको मूल्य वृद्धिको पहिलो कारण भारतमा निर्यात भएको र अन्य कारण पनि भएको बताए । व्यवस्थापक भट्टराईले भने, ‘भारतीय बजारमा मूल्य बढी भएपछि उतै निर्यात गर्दारहेछन् ।’ इतिहासमै पहिलोपटक टमाटर भारत निर्यात भएको व्यवस्थापक भट्टराईको भनाइ छ । उनका अनुसार भारतीय पक्षले पनि बजारमा टमाटर अभाव भएपछि निर्यात गर्नमा कुनै अवरोध गरेको छैन । मूल्य वृद्धिको अर्को महŒवपूर्ण कारण भने पहिलो चरणमा उत्पादित टमाटरले बजार नपाउँदा कृषकले त्यसै फाल्नुपरेको थियो । उत्पादनले बजार नपाएपछि कृषकले दोस्रो चरणमा उत्पादन नै पनि कम गरेको व्यवस्थापक भट्टराईले बताए । उनले भने, ‘पहिलो लटको उत्पादनले मूल्य नपाएपछि दोस्रो लटमा बिरुवा नै पनि लगाएनन् ।’

कृषिउपज बजार धरानका अनुसार अहिले दैनिक १० टनसम्म भारतीय बजारमा टमाटर निर्यात भइरहेको छ । टमाटरको मूल्य अहिले नै घट्ने सम्भावना नरहेको व्यवस्थापक भट्टराईले बताए । धरान उपमहानगरपालिका बजार अनुगमन समितिका संयोजकसमेत रहेका उपप्रमुख अइन्द्रविक्रम बेघालाई भने के कारणले मूल्य वृद्धि भइरहेको छ भन्ने नै जानकारी छैन । उपप्रमुख बेघाले भने, ‘भारत निर्यात भएर, उत्पादन लागत बढी भएर वा अन्य के कारणले मूल्य वृद्धि भइरहेको छ भन्ने बारेमा हामी बुझ्ने तयारीमा छौँ ।’ बजार अनुगमन अधिकृत बिदामा भएकाले मूल्य वृद्धिका विषयमा बुझ्न ढिलाइ भएको उनले बताए । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले उत्पादन कम भएको, अफसिजन भएकाले र भारतीय बजारमा निर्यात भएका कारणले मूल्य वृद्धि भएको बताए । उनले भने, ‘खुल्ला बजारमा प्रतिस्पर्धाको आधारमा मूल्य निर्धारण हुन्छ ।’ उनले नियमनका विषयमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा अनुगमन गर्न सकिने बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मूल्य वृद्धिबारे कुनै जानकारी छैन ।

धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले मधेशमा टमाटरको उत्पादन घटिरहेकाले मूल्य वृद्धि भएको बताए । उनले भने, ‘तीन–चार तहका बिचौलियाका कारणले पनि मूल्य वृद्धि भएको छ । हाम्रो तहबाट मात्रै मूल्य नियन्त्रण हुने सम्भावना छैन ।’