निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरका ठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ ।
सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ ।
सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
‘निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ’, उनले भने, ‘नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ । बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पुर्याउन सक्ने अवस्था छैन ।’
भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए ।
बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उनको भनाइ थियो । ‘बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ’, उनले भने, ‘निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरा गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।’
अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताए । ‘बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ’, उनले भने, ‘उत्पादन भएको तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन् ।’
लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ । बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उनले बताए ।