साउन महिनाको अन्तिम सोमबार धरानको पिण्डेश्वर बाबा धाममा जल चढाउनेको भिड लागेको छ । यस वर्ष साउनामा ४ बटा सोमबार रहेका थिए । आज अन्तिम सोमबार बिहान २  बजे नै भक्तजनका लागी पिण्डेश्वार बाबा धामको ढोका खोलिएको थियो । 

पिण्डेश्वर बाबा धाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीका अनुसार अघिल्ला सोमबारको तुलनामा आज भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ । 

वराहक्षेत्रको चतरा धामबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा चढाउने गरिन्छ । स्थानीय भक्तजनहरूले घरैबाट पनि जल ल्याएर चढाउने गर्दछन् । 

साउन २ गतेबाट मलमास सुरु भएपछि मलमासमा जल चढाउनु हुँदैन भन्ने हल्लाका कारण अघिल्ला सोमबार सोचे अनुरूप भक्तजनहरू नआएको भए पनि आज भने बिहान दुई बजे देखी लागेकोलाई र थप भक्तजनहरू आउने क्रम रहिरहेकोले बेलुकी ५ बजेसम्म लाइन रहन सक्ने बनेपालीले बताएका छन् । साउन महिना सकिए पनि तिथिले थप  दुई दिन पर्ने भएकाले भदौ ४ गते र ११ गते पनि भक्तजनहरू जल चढाउन आउने उनले बताए । 

आज सुनसरी, झापा, मोरङ लगायत बारा सप्तरी तथा सिराहाबाट पनि भक्तजनहरू जल चढाउन आएको बनेपलीले बताए । मलमास सकिने र नाग पञ्चमी समेत परेकाले चार गते आज भन्दा बढी भक्तजन आउन सक्ने बनेपालीको अनुमान रहेको छ ।