नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीमा आयोजना हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूको कार्यक्रम रद्द भएको छ ।

धरानमा फैलिएको डेंगी महामारीका विषयमा सर्वदलीय र सर्वपक्षीय छलफल गर्न प्रदेशका मुख्यमन्त्री थापा र स्वास्थ्य मन्त्री लिम्बू आउने कार्यक्रम तय भएको थियो ।
सोसाइटीका शाखा अधिकृत किरण कार्कीले कार्यक्रम रद्द भएको पुष्टि गरे ।


कार्यक्रमका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेजीको संघर्ष गर्दै आइरहेको समूह कार्यक्रम बिथोल्न पुगेको थियो । कार्यक्रम रद्द भएको बारे उनीहरुलाई सोसाइटीका शाखा अधिकृत कार्कीले जानकारी गराएका थिए ।

Dharan Redcross

संघर्ष समितिको पूर्व चेतावनीका कारण कार्यक्रम रद्द भएको संघर्ष समितिका विष्णु थाम्देनले बताए । उनले मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाउने साथै कालोमोसो दल्ने वहिष्कारको कार्यक्रम रहेको बताए ।

'कोशी प्रदेशको पक्षमा मतदान गर्ने प्रदेश सभाका ८२ सांसदलाई सार्वजनिक कार्यक्रममा विरोध र वहिष्कार गर्छौ ।' थाम्देनले भने ।

संघर्ष समितिले कोशी प्रदेश नामकरण खारेज गर्ने र पहिचानका आधारमा नयाँ नाम राख्नुपर्ने माग गर्दै आएको छ ।