यदि ‘धरानको अनुहार चिहाउनु छ भने अहिले फेसबुकमा चिहाए पुग्छ’ यो आहानजस्तो लाग्ने वाक्य धरानका नगरप्रमुख हर्कराज राई र उनका समर्थकको हकमा मिल्दो छ तर, वास्तविकता खोज्दा धरानको अनुहार विल्कुल फरक छ । सतही अनुहार फेसबुक हो भने वस्तुगत अनुहार धरानको फरक वास्तविकता हो अर्थात् डेङ्गुबाट प्रताडित धरान । साउन २८ गतेसम्म डेङ्गुको कारण १० जनाको ज्यान गइसकेको छ भने नौ हजार नौ सय ७३ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित दर प्रतिसयमा ७१ जनामा देखिएको छ । यो एकदमै भयावह स्थिति हो । तर, यो अनुहारलाई नगरप्रमुख हर्कराज राईले ठीक ढङ्गले फेसबुकमा प्रस्तुत गरेका छैनन् । उनी त १० हजार लार्भा नष्ट गरियो भन्दै जग हँसाउने तथ्य प्रस्तुत गरिरहेका छन् । जबकि आँखाले लार्भा देख्न सकिँदैन भन्ने अकाट्य वैज्ञानिक प्रमाणलाई झुटो सावित गरिरहेका छन् । त्यही जग हँसाउने तथ्यलाई उनका समर्थकले फेसबुकका वालभरि पत्याउने बनाइदिएका छन् । यस्तो निम्छरो अनुहार लिएर विश्वसामु धरान पुगिरहेको छ । तर, बुद्धिजीवी, विद्वान्, यहाँका अगुवाहरू उनको भ्रमलाई चिर्न कुनै नयाँ वैज्ञानिक प्रमाण प्रस्तुत गर्न सकिरहेका छैनन् । यतिसम्मकि विद्वान्, बुद्धिजीवी, समाजका अगुवाहरू चुपचाप बसिदिँदा धरान विश्वसामु जग हँसाइ भएको छ । भ्रम पाल्नेलाई भने विश्व नै मैले चलाएको छु भन्ने लागिरहेको छ । जसरी हुटिट्याउँलाई ‘सगर थामेजस्तो’ लाग्छ ।
धरानको वास्तविक धरातल के हो ? के फेसबुकमा आए जस्तै हो कि बेग्लै छ ? यहाँको डेङ्गुको अवस्था के हो ? शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार, पर्यटन आदि आदिको अवस्था के हो ? यी विषयमा धरानलाई चिनाउने कुनै खालका ठोस खाका त के बिम्बात्मक खाका पनि आएको पाइँदैन । फेरि पनि किन विद्वान्हरू, बुद्धिजीवीहरू तैँ चुप मै चुप छन् । के यसरी नै धरानले आफ्नो अस्तित्वलाई समृद्ध बनाउन सक्छ ? यहाँका विद्वान्मा, बुद्धिजीवीमा, समाजका अगुवामा भएको ज्ञानको चेत भुत्ते भइसकेको हो ? आज धरानलाई डेङ्गुको सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बेला आइसकेको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालय तथा प्रदेशको कानून मन्त्रालयलाई स्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्न सिफारिस गरिसकेको अवस्था छ । यस्तो बेलामा यहाँका बुद्धिजीवी, विद्वान्, राजनीतिक दल, समाजका अगुवा, नागरिक समाज बोल्नु पर्ने हो कि होइन ? धराने चेत मृतप्रायः भएको हो ? यस्ता तमाम प्रश्नको उत्तर नखोज्ने हो भने वास्तविक धरानको उत्तर पाउन सकिँदैन । त्यसको सुरुवात समाजले पत्याउने त्यस्ता व्यक्तिहरूबाट हुन जरुरी देखिँदै आएको छ । आप्तवचन बोल्ने त्यस्ता बहादुर व्यक्तित्वको खाँचो पर्दै गएको छ । नत्र त पत्रकारिताको एउटा सिद्धान्त छ–‘स्पाइरल साइलेन्स थ्योरी’ । यो थ्योरीले भन्छ–‘कुनै विचारकले आफ्नो विचार पस्किरहँदा उसको विचार आम मासले ‘इग्नोर’ गर्ने अवस्था भयो भने आफ्नो विचार बाहिर ल्याउँदैन, मासको डरले आफ्नो विचार आफैसँग राख्छ ।’ कि यस्तै त भइरहेको छैन ? अब पनि ढिला गर्ने हो भने हामीले धेरै कुरा गुमाइसकेका हुनेछौँ, त्यो बेला चाहेर पनि सुधार गर्न सकिने छैन ।
धरानले सबैभन्दा सुरुमा डेङ्गु नियन्त्रणमा पहिलो प्रयास गर्नुपर्छ । त्यो प्रयास नगरले गरेन भन्ने विषयलाई लिएर होइन । आफै आफैबाट सुरुवात गर्नुपर्छ । यहाँका राजनीतिक दलहरूले आफ्ना वडा वडाका कमिटीहरूलाई निर्देशन दिनुपर्छ । नागरिक समाज, समाजिक अगुवाहरूले यसको प्रयास थाल्नुपर्छ । बुद्धिजीवीहरू, विद्वान्हरू पनि आ–आफ्नो तर्फबाट बोल्नुपर्छ । यो नगरको मात्रै जिम्मेवारी हो भनेर पछाडि सर्दा धरान पछाडि पर्छ । नगरले धरानलाई सङ्कटग्रस्त घोषणा नगरेमा त्यसका लागि प्रदेश तथा केन्द्रमा डेलिगेसन जाने वातावारण तयार गरी उतैबाट सङ्कटग्रस्त घोषणा गराउनुपर्छ । त्यसका लागि नागरिक समाज, सामाजिक अगुवा तथा राजनीतिक दलहरूको भूमिका हुनुपर्छ । जुन बेला आम नागरिकले राजनीतिक पार्टी, नागरिक समाजहरूबाट अपेक्षित चाहना राखेका हुन्छन्, त्यो बेला नगरिदिने हो भने ‘सबै यस्तै त हुन्’ भन्ने भाष्य निर्माण हुन्छ । जुन अहिले छ । त्यसकारण ढिलोचाँडो धरानको वास्तविकतालाई उजिल्याउन सबैको पहलकदमी आवश्यक छ ।