कोभिड संक्रमणपछि उत्पन्न आर्थिक मन्दीका कारण धराशायी बनेको बिर्तामोडको व्यवसाय तङ्ग्रिन सकेको छैन । व्यवसायमा आएको मन्दीसँगै पसल बन्द गरेर पलायन हुने व्यवसायीको संङ्ख्या पनि उल्लेख्य छ । 

पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा नै व्यवसाय भटाभट बन्द हुन थालेपछि चुनौती थपिंदै गएको छ । कोरोना कालमा लामो समय बन्द रहेका प्राय सबै व्यापारिक प्रतिष्ठान पुनः आर्थिक मन्दीका कारण थलिएका छन् । कतिपय व्यवसायीहरु बोहोनीसमेत गर्न नसकेको गुनासो गर्ने गर्दछन् । 

४० प्रतिशत व्यवसायीले व्यवसाय छाडेका र ३० प्रतिशत नयाँ व्यवसायी थपिएको सरोकारवाला बताउँछन् । यहाँ १० प्रतिशत व्यवसायीले सटर भाडा तिर्न नसकेर खाली गरेका छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार बैंक तथा वित्तीय संस्थाको असहज लगानी, महँगो ब्याज, क्रेताको खरीदमा पहुँच नपुग्ने भएका कारण यतिबेला व्यवसाय धराशायी बनेको हो । राज्यले व्यवसायीलाई संरक्षण गर्ने नीति अघि सार्नु पर्ने अहिलेको प्रमुख आवश्यकता भएको संघका महासचिव मैनाली बताउँछन् ।

मैनालीका अनुसार झापामा स्थापित उद्योगहरुको अवस्था पनि नाजुक बन्दै गएको छ । कृषिजन्य उद्योग जसले अन्तर्राष्ट्रिय बजारमा सामान निर्यात गर्छ त्यस्ता उद्योग सामान्य अवस्थामा चलिरहे पनि अन्य प्रकारका उद्योगको अवस्था दयनीय बन्दै गएको छ । 

रियलस्टेटको कारोबार पनि शून्य प्रायः छ । जसमा व्यवसाय धराशायी बनेकै अवस्थामा स्थानीय सरकारले लिने करको दायरा बढ्नुले पनि व्यवसायी थप मर्कामा परेको उनी बताउँछन् । 

प्रत्येक उद्योगले आफ्नो उत्पादन आधा घटाएकाले उत्पादित सामग्रीसमेत गोदाममै थन्क्याउन बाध्य हुनुपरेको मैनालीको भनाइ छ । बिर्तामोडका ठूला व्यवसायिक मलका पनि आधामात्रै सटर खुल्ला हुने गरेका छन् । विर्तामोडको सीटी सेन्टर २ वर्ष अगाडि पूरै व्यवसायले भरिएको थियो । अहिले त्यहाँ ५० प्रतिशतभन्दा बढी सटर बन्द भएका छन् । १० प्रतिशत सटर खाली छन् भने ३० प्रतिशतमा नयाँ व्यवसायी आउने गरेका छन् । 

सीटी सेन्टरका सञ्चालक उमेश राउतका अनुसार आर्थिक मन्दी त छँदैछ अरुको देखासिखीमा लगानी गरेका व्यापारीले ग्राहक नपाउँदा व्यवसाय टाँट पल्टिएको बताए ।

राउत आफैँ विज्ञापन क्षेत्रका व्यवसायी हुन् । उनीजस्तै व्यवसाय गर्ने व्यवसायी ६० प्रतिशत पलायन भइसकेको उनको भनाइ छ । अहिले धेरै नाफा कमाउने भन्दा पनि व्यवसायलार्ई कसरी टिकाइराख्ने भन्ने नै चुनौति रहेको उनी बताउँछन् । 

बिर्तामोडमा व्यवसाय मन्दी देखिएपनि ठूला मल र होटल निर्माणमा भने व्यवसायीले लगानी थपिरहेको पाइन्छ । 

देशमै चर्चित भाटभटेनी जस्ता ठूला मल बन्ने क्रम जारी छ । असोज ४ गतेदेखि सञ्चालनमा आउने भाटभटेनीको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । 

केही वर्षअघि राम्रै व्यवसाय सञ्चालन गरेका बिर्तामोडका कृष्ण भण्डारीले व्यवसाय छाडेका छन् । आफ्नो सामान घरमा ल्याएर सटर जिम्मा लगाएको उनी बताउँछन् । 

‘वित्तीय संस्थाको चर्को ब्याज, सितिमिति ऋण नपाइने, पाए पनि व्यवसाय नचल्दा किस्ता बुझाउन समस्या परेका कारण पसल छाडेको हुँ ।’ उनले भने । 

होटल व्यवसाय पनि अहिले सङ्कटमा छ । बिर्तामोडमा मात्रै सानाठूला गरी सयौं होटल सञ्चालनमा छन् । तीमध्ये धेरैले व्यवसाय छाडेका छन् । २ वर्षअघि दैनिक करिब एक लाखको हाराहारीमा कारोबार हुने होटलमा अहिले बोहनी गर्नसमेत मुस्किल परेको व्यवसायी बताउँछन् । 

आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायीलाई असर पुगेको छ । ठूलादेखि साना व्यवसायी, उद्योगदेखि वित्तीय संस्थासमेत धराशायी बनेका छन् । 

राज्यले सरल नीति र करमा छुट नगरे धेरै व्यवसायी घरबासविहीन हुने अवस्था सिर्जना हुने व्यवसायीको गुनासो छ ।