स्थानीय सरकार आएपछि २ करोड रुपैयाँ बढी मर्मत सम्भारमा खर्च भएको वराहक्षेत्र १ स्थित चावाचा बागदलबारी सडक पुनः भत्किएको छ । भत्किएको बाटो आवतजावत् गर्न मिल्ने गरी वडा कार्यालयले डोजर लगाएर खोलेको छ । 

गत आर्थिक वर्षमा मात्रै प्रदेश सरकारको शहरी विकास तथा भवन कार्यालयबाट विनियोजित ५० लाख रुपैयाँबाट सडक मर्मत सम्भार गरिएको थियो भने नगर सरकारको गत आर्थिक वर्षमा विनियोजित ३३ लाख रुपैयाँबाट मेसिनरी वाल, गेभिङ, कटिङको काम गरिएको थियो ।

प्रदेश सरकारबाट विनियोजित रकमबाट स्थानीय लोकबहादुर दाहालको अध्यक्षतामा उपभोक्ता समितिमार्फत् काम गरिएको थियो भने नगरपालिकाको मेसिननरी वाल ठेक्का स्थानीय दिपक कार्कीले लिएका थिए ।

वर्षापछि बुधबार बिहान गएको पहिरोले साढे तीन किलोमिटर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । सडकको करिब डेढ किलोमिटर दूरिमा ठूलो पहिरो गएको छ भने चावाचा गाउँ नजिकै रहेको रानीखोला नजिक एक स्थानमा लगाइएको करिब २० मिटर लम्बाईको मेसिनरी वाल भत्किएको वडाध्यक्ष किसन थापाले बताए ।

पहिरो गएको सूचना पाएपछि नगर प्रमुख रमेश कार्की वडाध्यक्ष किसन थापा र वडा सदस्य कुमार भट्टराई उक्त स्थानमा पुगेका थिए । पहिरो गएको स्थान र भत्किएको रानीखोलाको मेसिनरी वालको निरीक्षण गरेपछि पहिरो हटाउन जेसिबीको व्यवस्था गरिएको वडासदस्य भट्टराईले जानकारी दिए । 

पहिरोले सडक अवरुद्ध बनाउँदा गाउँलेलाई सास्ती

भण्डारीटार चावचा बागदलबारी जोड्ने सडकमा पहिरो गएर गाउँलेको आउजाउ बन्द हुने गरेको गुनासो गर्दै आएका छन् । 

Chawacha Sadak

सडकको दीगो निर्माण नहुँदा बर्खामा मात्रै दर्जनौं पटक सडक निर्माण गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ । सडक निर्माण गर्दा लाग्ने खर्चसमेत कसले बेहोर्ने भन्नेमा समस्या भएको वडासदस्य कुमार भट्टराई बताउँछन् । ‘खर्च भुक्तानी चाहिं कसरी हुने हो, नगरबाट लगाउने कि वडाबाट भुक्तानी गर्नुपर्ने हो थाहा छैन, मेयर आफैं आएर काम गर न भन्नु भयो ।’ वडा सदस्य भट्टराईले भने । 

यो सडक स्थानीयलाई नगरपालिकासँग जोड्ने एक मात्र मार्ग हो । बाटो बन्द भइरहँदा स्थानीयले सास्ती पाउँदै आएका छन् । 

पहिरो जाँदा वडाको पहाडी क्षेत्रमा रहेको चावाचा बागदालबारीवासी लाई बजारसँग जोड्ने मुख्य लाइफलाइन बाटोको सम्पर्कविच्छेद हुने गरेको छ । 

‘पहिरो गएर हामीलाई अहिले धेरै समस्या भएको छ, दैनिक उपभोग्य  खाद्य पदार्थ खरिद गर्नुदेखि लिएर विद्यार्थीको पढाइसमेत रोकिने गरेको छ ।’ स्थानीय गणेश दाहालले भने, ‘हामी ठूलोहरु त जोखिम मोलेर हिड्नु परेको छ, अर्कोतिर स्कुले विद्यार्थीले कसरी ओहोरोदोहोरो गर्ने ?, चिन्ता छ, बाटोको विकल्प छैन ।’    

गाउँलेलाई बिरामी पर्दा सारोगारो हुँदा जीवन नै जोखिममा पर्ने स्थानीयको चिन्ता छ । 

प्रत्येक वर्षातको मौसममा समस्या बन्ने यो बाटोमा स्थानीय सरकारको सानो बजेट र प्रयासले नपुग्ने हुँदा यसै क्षेत्रका प्रतिनिधि संघीय शिक्षा मन्त्री अशोक राईलाई विशेष ध्यानाकर्षण गराएको नगर प्रमुख रमेश कार्की बताउँछन् ।