विराटनगर । विराटनगर–१० तीनटोलियाका २३ वर्षीय सिद्धान्त भट्टराईको सफल उद्योगी बन्ने चाहना थियो । त्यही सपना साकार पार्न उनले स्नातक उत्तीर्ण गरे । त्यसपछि बाबु सुरेश भट्टराईले कान्छो छोरा सिद्धान्तको लागि मोरङको कटहरी गाउँपालिका–१ मा जय माँ करनी प्रिन्ट एण्ड पोलिब्याग उद्योग खोलिदिए । उक्त उद्योगले प्लाष्टिकको सामान उत्पादन गर्दछ ।
बाबुले खोलिदिएको उद्योग सिद्धान्तले सम्हालेको एक वर्ष भएको थियो । सिद्धान्त लय समात्दै अगाडि बढ्दै थिए । छोराको लागि सुरेशले उद्योग खोलिदिएपछि उनले बाबुलाई भन्ने गरेका थिए, ‘एक दिन सफल उद्योगी बन्नेछु र तपाईंले सम्हालेको उद्योगधन्दाको बागडोर सम्हाल्नेछु ।’ तर, सिद्धान्तको सफल उद्योगी बन्ने सपना गत मङ्गलबार भएको रहस्यम मृत्युसँगै सदाका लागि ढल्न पुगेको छ । उनको परिवारले पनि सफल उद्योगी भएको हेर्न चाहन्थे । तर, उनको रहस्मय मृत्युसँगै उनीहरूको सपना पनि अधुरै रहन पुगेको छ ।
सिद्धान्त सुरेशका कान्छो छोरा हुन् । उनका जेठा छोरा मेडिकल क्षेत्रमा छन् । सिद्धान्त गत मङ्गलबार पाथीभरा कापी उद्योगको व्यापारिक काम लिएर मिर्चैया पुगेर सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परे । दुर्भाग्य त्यही दिन उनका लागि जीवनको अन्तिम दिन बन्न पुग्यो । उक्त घटनाका कारण यतिबेला विराटनगरवासी शोकमा डुबेका छन्, छाँगाबाट खसे झैं भएका छन् परिवारजन ।
अनुसन्धान फितलो भएको परिवारको गुनासो
विराटनगर–१० का २३ वर्षीय सिद्धान्त भट्टराईको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् ।
मृतक परिवारले सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको गुनासो गरेका हुन् । साउन २३ गते सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि सिद्धान्तको शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा छोरा सिद्धान्तको दुर्घटना नभएर हत्या भएको बाबु सुरेशले बताए । ‘छोराको अपहरण गर्न खोजिएको थियो । त्यो पूरा हुन नसकेपछि हत्या भएको छ’ बाबु सुरेशले भने, ‘छोराको हत्या भएको घटनामा प्रहरीले गहनरूपमा अनुसन्धान नगरेको पाइएको छ । यतिका दिन भइसक्यो अहिलेसम्म पोष्टमार्टम रिपोर्टबारेमा पनि परिवारलाई जानकारी गराइएको छैन ।’ प्रहरीले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनले माग राखेका छन् ।
घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदनबारे जानकारी नदिएको भन्दै उनले गुनासो गरे । उनले मोरङमा बसोबास भएको व्यक्ति सिरहाको होटलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको उनको गुनासो छ । भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए । उनको घाँटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भए पनि हातको घडी र चस्मा अझैसम्म फेला परेको खबर आएको छैन । को.१ च ९१७२ नम्बरको पिकअप जिपमा मार्केटिङका लागि गएका थिए । गाडीका चालक सागर रायसँग सहदेव होटेलमा खाजा र खान खाएपछि उनी बाहिर निस्केका थिए । राति १ बजेतिर होटेलका सञ्चालकले उनको मृत्यु भएको भन्ने खबर प्रहरीलाई गराएका थिए ।
गत मङ्गलबार पाथीभरा कापी उद्योगको व्यापारिक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरूलाई तत्काल न्याय चाहिने भए पनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भए पनि बाबु शम्भुलाई छोडिएको थियो’ उनले भने, ‘शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भइरहेको छ ।’
प्रहरीले घटना भएको होटलबाट लागूऔषध कारोबार हुने सूचना पाएपछि छापामारेको थियो । त्यस क्रममा लागूऔषधसमेत बरामद गरेको बस्नेतले जानकारी दिएका छन् । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पुर्याउने जनाएको छ ।