नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘बाँदर कसैले पनि नखाएकामा’ चिन्ता व्यक्त गरिन् । उनले कसैले पनि नखाएको कारण बाँदरको संख्या बढिरहेको बताइन् ।

बाँदर नियन्त्रणमा समस्या भएको इंगित गर्दै सांसद देउवाले भनिन्,- ‘अरु देशको कुनै मोडेल छ कि ? धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? बाँदर त कसैले पनि खाँदैन, मारिंदैन पनि । सो ह्वाट टु डु इट बाँदर ?’ 

बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम नै गर्न उनले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव दीपककुमार खनाललाई आग्रह गरिन् । विगतमा नेपालले विदेशमा अनुसन्धानको लागि बाँदर निर्यात गर्दा आफूले विरोध गरेको स्मरण गर्दै उनले अहिले भयावह अवस्था भएको भन्दै चिन्ता ब्यक्त गरिन् ।

समितिको बैठकमा सांसदहरुले बाँदरको समस्याका कारण कृषकहरुले दुःख पाएको, कृषि उत्पादन घटेको बताउँदै कृषि मन्त्रालयका सचिव दीपककुमार खनाल सहितका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । मन्त्रालयका सचिव खनालले झन्डै २५ प्रतिशत खेतीयोग्य जमिनमा बाँदरको प्रकोपका कारण खेती हुन छाडेको मन्त्रालयको अनुमान रहेको बताए । उनले बाँदर नियन्त्रणका लागि प्रभावकारी विकल्पमा सरकारले काम गर्ने बताए ।