चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान जाने गरेका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । मानव स्वास्थ्यजस्तो गम्भीर विषयमा लापरबाही हुनु निन्दनीय हो । कुनै मान्छे बिरामी पर्दा स्वस्थ हुने आशाले अस्पताल पुग्छन् । धेरैजसो निको भएर घर फर्किन्छन्, केहीलाई उपचार गर्दा गर्दै सम्भव हुँदैन र मृत्युको मुखमा पुग्छन् तर, कतिपय घटनामा भने उपचार सम्भव हुँदाहुँदै पनि चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जाने गर्छ । कतिपय सामान्य बिरामी भएर अस्पताल पुगेका मान्छे शवका रूपमा फर्किन्छन् । यस्ता घटनामा बिरामीका आफन्तसँग चित्त बुझाउने ठाउँ नै हुँदैन । त्यसैले बेला–बेला अस्पतालमा तनाव उत्पन्न भएका, ढुङ्गामुढा प्रहार भएका घटना हुने गरेका छन् । यस्ता घटनाले हाम्रो स्वास्थ्य प्रणालीमाथि प्रश्नहरू उठाउँछन् । आम नागरिकले डाक्टरलाई भगवान्को रूपमा हेर्नुको कारण हो, ती डक्टरले सयौंको ज्यान बचाएका हुन्छन् । तर, बिरामी भएर स्वस्थ हुनका लागि अस्पताल पुगेका मान्छे निको हुनुको साटो ज्यान गुमाउनु पर्ने अवस्था आउँछ भने त्यस्तो अवस्था भोगेकाहरूले डाक्टरलाई कसरी भगवान् मान्लान् ? पक्कै मान्दैनन् ।
हालै प्रसूति व्यथा लागेर झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पताल पुगेकी बिर्तामोड–१ की सिर्जना सङ्ग्रौलाको निधन भएको छ । बिरामीका आफन्तले शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेको आरोप लगाएपछि अस्पतालले उनको मृत्यु हुनुअगाडि नै राहतस्वरूप परिवारलाई ३५ लाख रुपैयाँ दिने सहमति गरेको थियो । केही साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि खुट्टाको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले परिवारलाई उपचार खर्च मिनाहा र परिवारको पनि निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति गरेको थियो । यी त पछिल्ला घटना मात्र हुन्, यस्ता घटनाहरू अस्पतालहरूमा पटक–पटक दोहोरिने गरेका छन् । घटनापछि राम्रोसँग अनुसन्धान गर्ने गरिएको पाइँंदैन । यस्ता घटनामध्ये कतिपय राम्रोसँग उपचार गर्दागर्दै ज्यान गएका पनि हुन सक्छन् भने कतिपय उपचारमै लापरबाही भएका पनि हुन सक्छन् । घटनाको राम्रोसँग अध्ययन गर्नसके गल्ती नगरी आरोप मात्र लागेका चिकित्सलाई राहत मिल्थ्यो भने वास्तविक लापरबाही गरेकाहरूले सजाय पाउने थिए । तर, यस्तो प्रचलन नहुँदा अस्पतालहरूले नै घटनाको ढाकछोक गर्न पैसा खर्च गर्ने गरेका छन् । उपचारमा लापरबाही गर्ने र पैसा बुझाउने प्रचलनले परिवारलाई राहत त मिल्ला तर, मृतकले न्याय पाउँदैनन् । यस्तो प्रचलनले अझ दण्डहीनता बढाउने निश्चित छ । यस्ता घटनाको अध्ययन गरेर लापरबाही पुष्टि भए कानूनी कारबाही गरिनु आवश्यक छ ।
स्वास्थ्य क्षेत्रमा बढेका लापरबाहीका घटनाको सम्बन्ध स्वास्थ्य क्षेत्रमा भइरहेको अति व्यापारीकरणसँग पनि जोडिन्छ । खासगरी स्वास्थ्य क्षेत्र सेवामूलक क्षेत्र हो तर, पछिल्ला दिनमा यो सेवाभन्दा बढी व्यापार बनेको छ । त्यसैले चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा क्षमतावान विद्यार्थीभन्दा पैसा खर्च गर्नसक्ने विद्यार्थीले अध्ययन गर्ने मौका पाउँछन् । गरिबका छोराछोरी क्षमतावान भए पनि लाखौं, करोडौं खर्च गर्न नसक्दा पढाइबाट बञ्चित हुनु परेको छ । तर, आर्थिकरूपमा सम्पन्न परिवारका छोराछोरी खर्च गरेर डाक्टर बन्छन् । स्वास्थ्य क्षेत्रको गुणस्तर यसले पनि फरक पार्न सक्छ । स्वास्थ्य क्षेत्रलाई जबसम्म सेवा क्षेत्रका रूपमा लिइँंदैन र त्यहीअनुसार देशको नीति निर्माण गरिँंदैन, तबसम्म सामान्य नागरिकले राम्रो स्वास्थ्य सेवा पाउन मुस्किल हुन्छ । यस्ता लापरबाहीका घटना पनि बढी नै रहन्छन् । स्वास्थ्य क्षेत्र व्यापारभन्दा माथि उठ्न नसक्नु हाम्रो दुर्भाग्य हो । नेपालको संविधानको परिकल्पनाअनुसार पनि स्वास्थ्यलाई सेवा क्षेत्रका रूपमा लिइनु आवश्यक छ । संविधानले समाजवाद उन्मुख घोषणा गरेको देशमा स्वास्थ्य क्षेत्रमा भएको चर्को व्यापारीकरण दुनियाँसामु लज्जाको विषय हो ।