विजयपुर । त्रिभुवन विश्वविद्यालयकोे २०७८ सालमा सञ्चालित व्यवस्थापनतर्फ स्नातक तह (बीबीएस) दोस्रो वर्षको परीक्षामा वीरेन्द्र मेमोरियल कलेज धरानकी छात्रा कोशी प्रदेशमा उत्कृष्ट भएको कलेजले दाबी गरेको छ ।
कलेजकी छात्रा यशोधा लिम्बूले स्नातक तह दोस्रो वर्षको ५ सय पूर्णाङ्कको परीक्षामा ३ सय ७७ अङ्क अर्थात् ७५.४ प्रतिशत ल्याएकी छन् । कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले भने, ‘हाम्रो कलेजको विद्यार्थीको नतिजा ७५.४ प्रतिशत आएको छ ।’
सोही परीक्षामा केही समयअघि विराटनगरस्थित सोम्स कलेजले उत्कृष्ट नतिजा दाबी गरेको थियो । कलेजले कलेजकी छात्रा शारदा श्रेष्ठले ५ सय पूर्णाङ्कको परीक्षामा ३ सय ५४ अङ्क अर्थात् ७०.८ प्रतिशत ल्याएको भन्दै उत्कृष्ट दाबी गरेको थियो ।